हेटौंडा । हेटौंडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसलाई बागमती प्रदेशको सार्वजनिक विश्वविद्यालय बनाउने निर्णय गरिएको छ ।

बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले मकवानपुर बहुमुखी क्याम्पसलाई सार्वजनिक विश्वविद्यालय बनाउने निर्णय गरेको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिए । उनले सामाजिक सञ्जाल मार्फत पनि सो कुरा सार्वजनिक गरेका छन ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले बहुवर्षीय आयोजनाअन्तर्गत निर्माण भइरहेका प्रहरी चौकी भवन निर्माणको भुक्तानी गर्न बाँकी २६ करोड रुपैयाँ निर्माण कम्पनीलाई भुक्तानी दिने, प्रदेश निजामती सेवा नियमावलीको मस्यौदा परामर्शका लागि प्रदेश लोकसेवा आयोगमा पठाउने निर्णय गरेको बागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालय र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयको संगठन संरचना दरबन्दी तेरिजसमेत स्वीकृत गरेको छ । प्रदेशमा कर्मचारी पदपूर्ति र पदस्थापनाका लागि प्रदेश लोकसेवा आयोगलाई पत्राचार गर्ने निर्णय पनि भएको मन्त्री लम्सालले जानकारी दिए ।