हेटौंडा । द्वन्द्व प्रभावित व्यक्तिहरुलाई हेटौंडामा ६ महिने कम्प्युटर सफ्टवेयर तालिम शुक्रबारबाट शुरु भएको छ । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग तथा घाइते अपाङ्ग योद्धा संघ नेपाल मकवानपुरको आयोजनामा तालिम शुरु भएको हो ।

कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का बागमती प्रदेश कमिटी सचिवालय सदस्य तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले द्वन्द्व प्रभावितलाई केन्द्रीत गरि विशिष्ट रुपमा तालिम सञ्चालनका लागि सहयोग गरिएको बताएका छन् । हाल कम्प्युटर र प्रविधिको युग भएको हुँदा प्राप्त अवसरलाई दुरुपयोग नगर्न र सदुपयोग गर्न सहभागिहरुलाई उनले अनुरोध गरे ।

यस किसिमका तालिमले विगतका दुबै पक्षका द्वन्द्व प्रावितहरुबीच पुनर्मिलन हुन सहयोग पुग्ने समेत विश्वास व्यक्त गरेका छन् ।

यस्तै, कार्यक्रममा बोल्दै माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य लक्ष्मी पाख्रिनले प्राप्त अवसरलाई व्यवहारमा कार्यान्वयन गर्नेगरि सीप सिक्न सहभागीहरुलाई अनुरोध गरेकी छन् ।

यसैगरि, कार्यक्रममा हेटौंडा उपमहानगरपालिका – ५ नम्बर वडा कमिटिकी सदस्य रञ्जिता सिलवालले कम्प्युटर सम्बन्धी ज्ञान कहिल्यै पर्याप्त नहुने र जहिले पनि अपुग हुने भएको हुँदा ६ महिनासम्म धेरै भन्दा धेरै ज्ञान र सीप ग्रहण गर्न सहभागी माझ अनुरोध गरिन् ।

सीआइटी इन्ष्टिच्युट हेटौंडामा तालिम हुनेछ । तालिममा द्वन्द्व प्रभावित परिवारहरुबाट १५ जनाको सहभागिता रहेको छ । तालिममा कम्प्युटर प्रशिक्षक दिनेश रिजालले प्रशिक्षण प्रदान गर्नेछन् ।