हेटौंडा । सडकमा जाऔँ, सडकमा खाऔँ, सडकमै रमाऔँ भन्ने नाराका साथ होटल एसोसियसन अफ मकवानपुरको आयोजनामा हेटौंडामा तीनदिने सडक खाना महोत्सव हुने भएको छ । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा होटल एसोसिएसनले हेटांैडा उपमहानगरपालिका ४ मा सडक खाना महोत्सव आयोजना गर्न लागेको हो ।

शुक्रबारदेखि तीन दिनसम्म खाना महोत्सव आयोजना गर्न लागेको होटल एसोसियसन अफ मकवानपुरका कार्यबाहक अध्यक्ष विष्णुगोपाल महर्जनले जानकारी दिए । महोत्सवमा खानाका विभिन्न परिकारसँगै स्थानीय कलाकारको प्रस्तुतिमा मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजना गरिने काबा अध्यक्ष महर्जनले बताए । महोत्सवमा ४० वटा स्टल रहनेछ । कोभिड १९ को सङ्क्रमणको जोखिम आर्थिक मन्दीलगायतका कारण महोत्सव २०७६ सालदेखि रोकिएको थियो । २०६५ सालदेखि सडक खाना महोत्सव आयोजना गर्दै आएको होटल एसोसिएसन अफ मकवानपुरको आयोजनामा हेटौँडामा हुने यो महोत्सव दशौँ संस्करण हो ।

मकवानपुरको आन्तरिक पर्यटनमा टेवा पु¥याउने उद्देश्यले आयोजना गर्न लागिएको महोत्सव हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्रचौरको पूर्वतर्फको सडकमा हुने भएको छ ।