हेटौंडा । बागमती प्रदेशसभा उपसभामुख अप्सरा चापागाईंले जलवायु परिवर्तनले गरिव र सीमान्तकृत समुदायलाई धेरै असर गरेको बताइन् । बुधबार हेटांैडामा भएको जलवायु परिवर्तन सीमान्तकृत समुदायमा पारेको प्रभाव र राज्यको दायित्व विषयक बागतमी प्रदेश स्तरीय सम्मेलनमा बोल्दै उपसभामुख चापागाईंले पछाडि पारिएका वर्गको कृषि उत्पादन र शिक्षा क्षेत्रमा पनि जलवायु परिवर्तनले उत्तिकै असर पारेको बताइन् ।

चितवन सक्रिय महिला प्रतिष्ठान, मकवानपुर महिला समूह, स्वाम नेपाल, युथ अभियानको संयुक्त आयोजना र एक्सन एडको सहयोगमा नेपालमा जलवायु परिवर्तनको असर तथा यसबाट परेको प्रभाव न्यूनीकरणमा राज्यले अपनाइरहेको अनुकुलनका उपाय तथा अबका दिनमा अपनाउनुपर्ने नीतिगत व्यवस्थाबारे छलफल गर्ने उद्देश्यले उक्त सम्मेलन आयोजना गरिएको हो ।

सम्मेलनमा जलवायु परिवर्तन र अनुकुलनको लागि भएका नीतिगत व्यवस्था, अनुकुलनका कार्यक्रम सम्बन्धि संचारमाध्यममा भईरहेका रिपोर्टिङ्गका विषयमा अनुभव साटासाट तथा सीमान्तकृत समुदायले भोगिरहेका समस्या र पारेको प्रभावका बिषयमा छलफल भएको थियो ।