हेटौंडा । बागमती प्रदेश सरकारले मौलिक चलचित्र निर्माण तथा प्रवर्द्धनमा सहयोग कार्यक्रम सञ्चालन सम्वन्धि कार्यविधि २०८० स्वीकृत गरेको छ ।

बागमती प्रदेश सरकार मन्त्रीपरिषद्को आइतवार साँझ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिए ।

मन्त्री परिषद् बैठकले जनचेतनामूलक प्रचार सामग्री निर्माण, प्रसारण तथा वितरण कार्यविधि २०८० स्वीकृत गरेको छ । त्यस्तै भौतिक संरचनाको संरचनात्मक सुधारको खर्च अख्तियारी प्रदान गर्ने निर्णय गरिएको प्रवक्ता श्रेष्ठले बताए । बैठकले द्वन्द्व पीडितका लागि सवलिकरण कार्यक्रम कार्यन्वयन कार्यविधि २०८० स्वीकृत गर्नुका साथैं प्रदेश सदस्य गिता गुरुङको हेयरिङ मेशिन खरिद गर्ने निर्णय समेत गरेको छ ।

त्यस्तै प्रदेश सरकारले एक वडा एक कृषि पशुपन्छी तथा मत्स्यजन्य उत्पादन कार्यक्रम कार्यान्वयन कार्यविधि र एक विद्यालय एक नर्स कार्यक्रम सन्चालन (दोश्रो संसोधन) कार्यविधि २०८० स्वीकृत गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

गर्भवती तथा सुत्केरी अवस्थाका ज्यान जोखिममा परेका महिलाको निशुल्क हवाइ उद्धार सेवा सम्वन्धि कार्यविधि र दुर्गम क्षेत्र विशेषज्ञ चिकित्सक प्रोत्साहन तथा विस्तारित अस्पताल सेवा सन्चालन सम्वन्धि कार्यविधि २०८० स्वीकृत गरेको छ ।

त्यस्तै समस्याग्रस्त सहकारी संस्थाको निमित्त व्यवस्थापन समिति गठन तथा सो समितिको सेवा सुविधा तथा शर्त सम्वन्धि व्यवस्था सम्वन्धमा पनि निर्णय गरेको छ । मन्त्री परिषद्को बैठकले काठमाडौं महानगरपालिका–३१ प्रशान्त अधिकारीको अध्यक्षतामा समितिको सदस्य काठमाडौं महानगरपालिका–४ का यज्ञनाथ दाहाल र मकवानपुरका यतीराज सापकोटा रहनेगरी निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।