हेटौंडा । नावालिग छोरीलाई यातना दिने बाबुविरुद्ध मकवानपुर प्रहरीले आइतवार मुद्दा दर्ता गरेको छ । बच्चालाई कुटपिट गर्ने मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ सिँचाइटोल डेरागरि बस्ने महोत्तरी एकडाँडा–३ का २७ बर्षीय रामजी मण्डललाई नियन्त्रणमा लिई बालबालिका बिरुद्ध कसुर मुद्धामा ७ दिन म्याद थप गरि थप अनुसन्धान अघि बढाइएको हो ।

मण्डललाई ४ वर्षकी छोरीमाथि निर्मम यातना दिएको भन्दै प्रहरीले शनिवार पक्राउ गरेको थियो । बालबालिकाको क्षेत्रमा काम गर्ने सिबिन बाल हेल्प लाइनको जाहेरीपछि प्रहरीले मण्डलविरुद्ध मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए । आफ्नै छोरीलाई पढाउने क्रममा पेन्सिलले मुख र शरिरको बिभिन्न भागमा घोची घाईते बनाएको प्रवक्ता भण्डारीले बताए । हेटौँडा अस्पतालमा उपचार पश्चात बच्चालाइ सेफ हाउसमा राखिएको छ ।

मण्डलले नाबालिका छोरीको हात, अनुहार, कानमा टोक्ने, आँखामा खुर्सानीको धुलो हाल्दिने गरेको पाइएपछि सिबिनको सहयोगमा मण्डललाई प्रहरीले पक्राउ गरेको थियो ।