हेटौंडा । काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक)मा कार्यरत चिनिया नागरिकले मंगलबार एक नेपाली किशोरीमाथि हातपात गरेका छन् ।

मकवानपुरको बकैया गाउँपालिका वडा नं.१२ भट्टेपाखास्थित चाईनिज क्याम्पमा खाना बनाउने काम गर्ने मकवानपुरगढी गाउँपालिका वडा नं.१ बस्ने १८ बर्षीय फुलमाया लुङ्बालाई फास्ट ट्रयाक निर्माणमा कार्यरत ५१ बर्षीय थान काई युनले हातपात गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

त्यसपछि किशोरीको आफन्त तथा स्थानियहरुले चाईनिज नागरिक युनलाई पनि कुटपिट गरेर घाइते बनाएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार किशोरी स्थानीय मेडिकलमा उपचार पश्चात डिस्चार्ज भएकी छिन् ।

चाईनिज नागरिकको भने प्रहरीको निगरानीमा अर्थोपेडिक अस्पताल हेटौंडामा उपचार भइरहेको बताईएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।