हेटौंडा । मकवानपुरमा शहीद दिवस सप्ताहव्यापी कार्यक्रमगरी मनाइने भएको छ । शहीद स्मारक विकास समिति हेटौँडा–११ ले शुक्रबार पत्रकार सम्मेलन गर्दै सप्ताहव्यापी कार्यक्रम गरेर सहिदको सम्झना गर्न लागेको हो ।

समितिका सचिव रघुनाथ खुलालका अनुसार सप्ताहव्यापी कार्यक्रम माघ १० गतेबाट १६ गतेसम्म गरिने भएको छ । सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन माघ १० गते वुद्धको प्रतिमा अनावरण गर्ने कार्यक्रम तय भएको छ ।

माघ ११ गते कृषि, हस्तकला तथा पर्यटकीय वस्तुहरुको प्रवर्द्धन मेला, माघ १२ गते वडास्तरीय नृत्य प्रतियोगिता, माघ १३ गते रक्तदान कार्यक्रम गरिने भएको छ ।

त्यस्तै माघ १४ गते वतृत्वकला प्रतियोगिता, माघ १५ गते साँस्कृतिक कार्यक्रम, पुरस्कार वितरण तथा शिक्षक खुला दौड प्रतियोगिता आयोजना गरिने उनले बताए ।

माघ १६ गते शहीद दिवसमा प्रभातफेरी कार्यक्रम आयोजना गरिने भएको छ । उक्त दिनमा स्मारक गेटबाट प्रभातफेरी सुरु हुनेछ भने श्रीचन्द्र शर्मा स्मृति सम्मान पुरस्कार पनि वितरण गरिने कार्यक्रमतय भएको छ ।