अपाङ्गता भएका व्यक्तिलाई गाउँमै पुगेर नागरिकता प्रदान गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरका टोली ।

हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपरले शारीरिकरुपमा अशक्त भएका ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई उनीहरुको घरैमा लगेर नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरेको छ ।

शारीरिक अशक्तताका कारण जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नसक्ने अपाङ्गता भएका व्यक्ति तथा अशक्त नागरिकलाई उनीहरुको घरैमा लगेर नागरिकताको प्रमाणपत्र वितरण गरेको हो ।

जिल्लाको भीमफेदी गाउँपालिका वडा नं ८ इपाका विर्ख बहादुर थिङको २० बर्षीय छोरी सुनिता थिङ र १६ बर्षीय छोरा सुरेन्द्र थिङलाई नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सरोज पौडेल, नायव सुब्बा सहदेव आचार्य, अस्विनी कुमार आर्याल सहितको संयुक्त टोलीले गाउँमै पुगेर नागरिकताको प्रमाणपत्र उपलब्ध गराए ।

नेपाली नागरिकता प्रमाणपत्र प्राप्त गर्नु सबै नागरिकको अधिकार भएको र कार्यालयमा उपस्थित हुन नसक्ने शारीरिक र मानसिक रुपमा पूर्ण असक्तलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको प्रशासकीय अधिकृत पौडेलले बताए । सवारी साधनबाट ओर्लेर करिब २ घण्टा हिडेर घरमै पुगि नागरिकता प्रदान गरिएको उनले बताए । नागरिकता वितरणको लागि भीमफेदी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष प्रितिलाल थिङ, समाजसेवी अप्सरा लोप्चन लगायतले सहयोग गरेका थिए ।

गाउँमै नेपाली नागरिताको प्रमाणपत्र पाएसँगै उनीहरु खुसी भएका थिए । भौगोलिक रुपमा दुर्गम र पूर्ण असक्त आफ्ना छोराछोरीलाई घरमै आएर नागरिकता प्रदान गर्न पहल गरिदिनुहुने सामाजिक बिकासमन्त्री कुमारी मोक्तान, जिल्ला प्रशासन कार्यालय मकवानपुर र स्थानीय सबैलाई बिर्खबहादुर थिङले धन्यवाद दिए ।