हेटौंडा । हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडक खण्डको हेटौंडा–१७, गैरीगाउँमा टिपरको ठक्करबाट सोमबार साँझ श्रीमानको मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते भएकी छिन ।

कान्तिलोकपथ सडकमा चौघडातर्फबाट मकवानपुरगढीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७९०३ नम्बरको टिपरले विपरित दिशाबाट आउँदै गरेको ना २६ प ४४२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक प्रकाश शाहले जानकारी दिए ।

मृत्यु हुनेमा मकवानपुरगढी गाउँपालिका वडा नं.२ खोलाखेत बस्ने २५ बर्षीय हरी पनेरु रहेका छन् । मोटरसाइकल पछाडि सवार उहाँको श्रीमती २२ बर्षीय अर्चना ढकाल गम्भीर घाइते भएकी छिन । उनको दुबै खुट्टा र टाउकोमा चोट लागेकाले स्थानीय मेडिकलमा प्राथमिक उपचार पश्चात थप उपचारका लागि हेटौँडा अस्पतालमा पठाइएको प्रहरी निरिक्षक शाहाले बताए ।

दुर्घटना लगतै टिपर चालक हेटौँडा उपमहानगरपालिका वडा न.१९ नेवारपानी बस्ने ३३ बर्षीय राधाकृष्ण रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।