हेटौंडा । बागमती प्रदेशसभाको बिहीबार हेटौंडामा छैटौं बार्षिकोत्सव मनाइएको छ । कार्यक्रममा बागमती प्रदेशसभाले हालसम्म बनाउनुपर्ने कानूनमध्ये ७८ वटा कानून पास भएको र पास भएका कानून मध्ये ४३ वटा ऐन रहेको जनाइएको छ । प्रदेशसभाको दोस्रो कार्यकालको हालसम्म ३४ दिन प्रदेशसभा संचालन भएको र ५६ बैठक बसेको थियोे । बैठकबाट प्रदेशसभामा दर्ता भएका १२ विधेयकमध्ये ८ विधेयक पारित भइसकेको जानकारी दिइएको थियो । पास भएकामध्ये एउटा विधेयक पुनर्विचारका लागि प्रदेश प्रमुखबाट प्रदेशसभामा फिर्ता पठाएका छन् ।

कार्यक्रममा प्रदेश सभा सदस्य गिता गुरूङ, मधुसुदन पौडेल, माया श्रेष्ठ, रामप्रसाद ढुंगाना, लक्ष्मीदेवी श्रेष्ठ, प्रदेशसभाका कर्मचारीहरू कानून अधिकृत मनोजकुमार गुप्ता, कम्प्युटर अधिकृत रोशन प्रधान, कम्प्युटर अपरेटर सरिता घिमिरे र कार्यालय सहयोगी मिना ओझालाई सम्मान गरिएको थियो ।

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माको प्रमुख आतिथ्यता एवं सभामुख भुवनकुमार पाठकको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।कार्यक्रममा मूख्यमन्त्री शालिकराम जम्कट्टेल, पूर्व मूख्यमन्त्री डोरमणि पौडेल, उपसभामुख अप्सरा चापागाईं, नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामा, एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया लगायतले मन्तव्य व्यक्त गरेका थिए ।