हेटौंडा । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले सडक दुर्घटना न्यूनीकरण गर्न आगामी पाँचबर्षभित्र बागमती प्रदेशका जोखिमयुक्त सडकमा सिसिटीभी क्यामरा जडान गर्ने बताएका छन । सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि बिहीवारदेखि हेटौँडामा सुरु भएको ट्राफिक सप्ताह–२०८० को समुद्घाटन गर्दै सडक दुर्घटना ५० प्रतिशत न्यूनीकरण गर्ने उद्देश्यका साथ पाँचबर्षभित्र काम सक्नेगरी जोखिमयुक्त सडकको पहिचान गरेर सिसिटीभी क्यामरा जडानको प्रक्रिया थालिने उनले जानकारी दिए ।

“उच्च जोखिमयुक्त सडकको सर्वे भईसकेको छ, सिसिटीभी जडानका लागि प्रदेश सरकारले कार्ययोजना बनाएर काम अगाडि बढाइसकेको छ, छिट्टै काम सुरु गर्छौ,”–मन्त्री श्रेष्ठले भने । सवारी दुर्घटना न्यूनिकरणका लागि प्रविधिमैत्री ट्राफिक आवश्यक भएको बताउँदै ट्राफिक प्रहरीलाई उपकरण खरिदका लागि पनि प्रदेश सरकारले सहयोग गर्ने उनले प्रतिवद्धता जनाए ।

प्रसङ्ग जोड्दै मन्त्री श्रेष्ठले स्थानीयतह सँग समन्वय गरेर मावि तहमा विद्यालय स्तरको पाठ्क्रममै ट्राफिक सचेतनासम्बन्धी अध्ययन गराउन सके सवारी दुर्घटना न्यूनीरणका हुनेमा विश्वास व्यक्त गरे । उनले सवारी तथा यातायात व्यवस्था ऐन परिमार्जन गर्न आवश्यक रहेको तर्क गरे ।

कतिपय अवस्थामा अज्ञानता र कतिपय अवस्थामा जानिबुझी ट्राफिक नियमको पालना नगर्दा दुर्घटना हुने गरेको मन्त्री श्रेष्ठको भनाई छ । सबैले गम्भीरतापूर्वक ट्राफिक नियमको पालना गरेमात्रै सवारी दुर्घटना न्यूनीकरण गराउन सकिने उनको तर्क छ । सडकको खराव अवस्था, भौगोलिक कारण र मापसे, लागूऔषध प्रयोग तथा नियमित सवारी साधनको चेकजाँच र परीक्षण नगराउँदा पनि सवारी दुर्घटना हुनेगरेको उनले बताए ।

प्रदेश सरकारको नेतृत्वमा समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम गरिरहेको स्मरण गराउँदै उनले आगामी कार्ययोजनामा यातायात व्यवस्था कार्यालय, सडक लगायतका सरोकारवाला निकायपनि यसतर्फ थप चनाखो हुनुपर्नेमा जोडदिए । नेपालमा सडक दुर्घटनाको अवस्था विकराल रहेको बताउँदै दैनिक ६५ सवारी दुर्घटनामा ७ जनाले ज्यान गुमाउने र २५ जना सवारी दुर्घटनामा घाइते हुनेगरेको तथ्याङ्क रहेको मन्त्री श्रेष्ठको भनाई छ ।

कार्यक्रममा बोल्दै श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले विद्यालयस्तरबाटै ट्राफिक सचेतना अनिवार्य र आवश्यक रहेको बताए । सडक अनुशासन, ट्राफिक नियम पालना गर्ने कुरा नैतिकता र जीवन रक्षा सँग जोडिएको उनको भनाई छ । ट्राफिक प्रहरीलाई प्रविधिमैत्री बनाउन जोड दिर्दै प्रदेश सरकारले सहयोग गर्ने उहाँले प्रतिवद्धता जनाए ।

हेटौँडा उपमहानगरपालिका मेयर मीनाकुमारी लामाले सडक साँघुरो हुँदा दैनिक दुर्घटना हुने गरेकोमा चिन्ता व्यक्त गर्दै सडक अस्तव्यस्त हुँदा ट्राफिक व्यवस्थापनमा पनि चुनौति रहेको बताइन । मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईले सवारीको यान्त्रिक जाँच नहुँदा राजमार्ग र ग्रामीण सडकमा धेरैले ज्यान गुमाउनुपरेकोमा चिन्ता व्यक्त गरिन ।

प्रहरी नायव महानिरीक्षक बिष्णुकुमार केसीको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख वसन्त आचार्यले स्वागत गरे । माघ २५ गतेदेखि सुरु भएको ट्राफिक सप्ताह फागुन २ गतेसम्म सञ्चालन हुनेछ । गोरखापत्रबाट