हेटौंडा । बागमती प्रदेशको प्रारम्भिक बालविकास रणनीतिको अन्तिम मस्यौदा तयार पारिएको छ । गर्भावस्था देखि ८ वर्षसम्मका प्रारम्भिक उमेरका सबै बालबालिकाको शारीरिक, सामाजिक, बौद्धिक, संवेगात्मक र भाषिक विकासको अवसर सुनिश्चित गर्दै बालबालिकाको सर्वाङ्गीण विकास सुनिश्चित गरी सक्षम तथा दक्ष मानव स्रोत विकास गर्ने लक्ष्य सहित बागमती प्रदेश स्तरीय एकीकृत प्रारम्भिक बालविकास रणनीतिको मस्यौदा तयार पारिएको हो ।

प्रदेशको विभिन्न मन्त्रालय एवं सरोकारवालाको सहभागितामा छलफल गरी मङ्गलवार हेटौँडामा मस्यौदालाई अन्तिम रुपदिइएको हो । उमेर अनुसार सर्वाङ्गीण विकासको लागि गुणस्तरीय एकीकृत सेवा प्रदान गर्ने, बालविकासका लागि कानूनी, संस्थागत तथा संरचनागत संयन्त्र निर्माण गर्ने, प्रभावकारी सेवा पुर्याउन दक्ष मानव तथा आर्थिक स्रोत सुनिश्चित गर्ने, सर्वाङ्गीण विकासका लागि आमाबुबा, परिवार, संरक्षक तथा समुदायको सक्रिय संलग्नता सुनिश्चित गर्ने, विशेष संरक्षण आवश्यकता भएका प्रारम्भिक बालविकास उमेरका बालबालिकाको सर्वाङ्गीण विकासका लागि लक्षित रुपमा एकीकृत एवं गुणस्तरीय सेवाको पहुँच विस्तार गर्ने ५ वटा नीतिमा यो रणनीति केन्द्रित छ । यसले बागमती प्रदेशले लिएको नीतिको पुर्ण कार्यन्वयनका लागि विभिन्न १६ वटा रणनीति एवं रणनीति लागु गर्नका लागि स्पष्ट कार्यनीति सहित कार्यदिशा तय गरेको छ ।

प्रारम्भिक बालविकास रणनीति २०८० को अन्तिम समस्यौदा छलफल कार्यक्रमको उद्घाटन गर्दै बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले सवैको सहभागितामा बनेको मस्यौदाका लागि अनलाईन मार्फत पनि सुझाव लिने काम गरिएको बताउँदै प्रारम्भिक बालबालिकाको सर्वाङ्गीण विकास गरी समृद्ध प्रदेश बनाउन महत्वपुर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन् । बालविकास संग सम्बन्धित संस्था र सरोकारवाल सबै मिलेर तयार गरिएको प्रारम्भिक बालविकास नीतिमा कुनै कमजोरी नगरी संशोधन गर्न नपर्नेगरी बनाउन उनले निर्देशन दिइन् ।

त्यस्तै घर बलियो जगले, राष्ट्र बलियो प्रारम्भिक बालविकासले भन्ने मुल नारालाई पुर्णता दिनका लागि यो रणनीति महत्वपुर्ण रहेको सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख गोपाल प्रसाद कँडेलले बताए । यो रणनीतिले बागमती प्रदेशलाई बालमैत्री प्रदेश बनाउने उनको भनाई छ ।

प्लान इन्टननेशनल नेपाल र मावन तथा राष्ट्रिय विकास समाजको सहयोग तथा सामाजिक विकास मन्त्रालयको अगुवाईमा तयार पारिएको मस्यौदामा प्रारम्भिक बालविकासका लागि उमेर र सेवा अनुरूपको आवश्यक निर्धारित न्यूनतम मापदण्ड कार्यान्वयन गर्ने, प्रारम्भिक बालविकास सेवाका लागि सूचना व्यवस्थापनको सुदृढीकरण, अनुगमन, मूल्याङ्कन र अनुसन्धान प्रणाली स्थापित गर्ने, लैङ्गिकमैत्री, बालमैत्री, अपाङ्गतामैत्री पूर्वाधार सुनिश्चित गर्ने, स्थानीय तहमा प्रारम्भिक बालविकासका राष्ट्रिय रणनीति २०७७–८८ को आधारमा यस प्रदेशको नीति तथा निर्देशिका तर्जुमा गर्ने, सम्बन्धित सबै निकायको प्रतिनिधित्व हुनेगरी संयन्त्र निर्माण गर्ने रणनीतिहरु अवलम्वन गरीने व्यवस्था रहेको छ ।

मस्यौदा सम्वन्धि छलफलमा सहभागीहरुले स्थानीय तहमा समन्वय सहकार्य र सहयोग सुनिश्चित गर्दै बालबालिकाका लागि सुरक्षा संरक्षण सहितको विशेष व्यवस्था गर्ने, एकीकृत योजना र कार्यक्रम तर्जुमा तथा बजेट विनियोजन गरी सवै पक्षको लगानीलाई प्रोत्साहन गर्दै प्रारम्भिक बालविकास गर्ने रणनीति लिने व्यवस्था उल्लेख गरिएको छ । सवै पक्षको अर्थपुर्ण सहभागिता सुनिश्चित गर्दै प्रारम्भिक बालबालिकाको विशेष संरक्षण मार्फत बालविकासको अवसरको सुनिश्चितता गर्ने रणनीति बागमती प्रदेशले अवलम्वन गर्ने मस्यौदामा समावेस गरिएको छ ।

छलफलमा प्रस्तुत मस्यौदामा रणनीति सामाजिक विकास मन्त्रालयको मन्त्रीको अध्यक्षतामा प्रदेश प्रारम्भिक बालविकास समिति मार्फत कार्यान्वय गर्ने व्यवस्था छ । स्थानीय स्तरमा पालिका प्रमुख र वडामा वडा अध्यक्षको अध्यक्षतामा प्रारम्भिक बालविकास समिति रहने र उक्त समितीले रणनीति कार्यान्वयनको अगुवाई गर्ने नीतिगत व्यवस्था रहेको छ ।

प्रारम्भिक बालविकास राष्ट्रिय रणनीति २०७७–२०८८ को मस्यौदालाई सामाजिक विकास मन्त्रीको नेतृत्वमा तयार पारिएको हो । मन्त्रालयको सामाजिक विकास महाशाखा प्रमुख गोपाल प्रसाद कँडेलको नेतृत्वमा रहेको विज्ञहरुको उप समितिले विभिन्न सरोकारवालासंग छलफल गरी सुझाव लिइ लेखन गर्ने कार्य गरेको थियो । मस्यौदा तयारीको क्रममा विभिन्न भौगोलिक क्षेत्रको सुझाव प्राप्त गर्ने उद्देश्यले दुधौली नगरपालिका सिन्धुली, रत्ननगर नगरपालिका चितवन, गोसाइकुण्ड गाउपालिका रसुवा र ललितपुर महानगरपालिकामा अन्तक्रिया कार्यक्रम गरी विभिन्न क्षेत्रवाट सुझाव सकलन गरीएको थियो ।

नेपालको संविधानको धारा ३९ अन्र्तगत मौलिक हकको रुपमा रहेको बालबालिकाको हक सम्वन्धि व्यवस्था अनुसार प्रत्येक बालबालिकालाई प्रारम्भिक बाल विकास तथा बाल सहभागिताको हक सुनिश्चित गर्नको लागि यो रणनीति तयार पारिएको हो ।