हेटौंडा । आगामी फागुन १३ देखि १९ गतेसम्म बागमती प्रदेशमा एकहप्ते दादुरा रुबेलाविरुद्ध खोप अभियान सञ्चालन हुने भएको छ । लक्षित उमेरका बालबालिकाहरुलाई दादुरा रुबेला खोप लगाएर दादुरा र रुबेला रोग विरुद्ध प्रतिरोधात्मक क्षमता अभिवृद्धि गरी ती रोगहरुबाट संक्रमण हुनसक्ने सम्भावनाहरुलाई न्युनीकरण गर्ने लक्ष्यका साथ बागमती प्रदेशमा एक हप्ते खोप अभियान सुरु हुने भएको हो ।

खोप अभियानअन्तर्गत प्रदेशभर ८ लाख ४९ हजार तीन सय २५ बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको छ ।बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले खोप अभियानबारे बिहीबार सञ्चारकर्मीहरुसँग प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम गर्दै एक हप्ताको अवधिमा प्रदेशका करिब २ हजार ९ सय केन्द्रमार्फत खोप लगाइने बताएको हो । बागमती प्रदेशका चितवन, काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई दादुरा रुबेलाको खोप लगाउने कार्यक्रम छ भने अन्य ९ वटा जिल्लामा ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई मात्रै दादुरा रुबेलाको खोप लगाइने स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

९ महिनादेखि १५ वर्षसम्मकालाई खोप लगाउने कार्यक्रम रहेको ४ वटा जिल्लामा विद्यालय र नियमित केन्द्रमा खोप सेवा दिइने र अन्य जिल्लामा नियमित खोप केन्द्र र थप गरिएका केन्द्रबाट खोप लगाउने निर्देशनालयका निर्देशक दीपकप्रसाद तिवारीले जानकारी दिए ।

बागमती प्रदेशमा ९ प्रतिशत बालबालिका पूर्ण खोपबाट बञ्चित भएको सर्वेक्षणबाट देखिएको भन्दै अबको खोप अभियानमा दादुरा रुबेलाका अतिरिक्त नियमित खोप लगाउन छुटेका बालबालिकालाई पनि खोप लगाइने स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका खोप फोकल पर्सन उत्तमराज प्याकुरेलले बताए । सन् २०२६ सम्म दादुरा रुबेला रोग निवारण गर्न नेपाल सरकारको प्रतिवद्धता रहेकोमा नियमित दादुरा रुबेला खोपको कभरेज ९५ प्रतिशतभन्दा कम भएको कारण खोप अभियान चलाउन लागिएको बताइएको छ । सरकारले २०७६÷७७ मा चलाएको अभियानपछि गरिएको सर्वेक्षणबाट नेपालमा दादुरा रुबेला खोपको कभरेज ८४ प्रतिशत देखिएको थियो । बागमतीको कभरेज भने ७४ प्रतिशत मात्रै छ ।

नेपालभर गत आर्थिक वर्षमा एक हजार तीन सय ५० जनामा दादुरा रुबेला रोग देखिएको थियो । दादुरा रुबेला संक्रमित मध्ये ७४ प्रतिशत ९ महिनादेखि १५ वर्ष उमेर समूहको रहेको बताइएको छ । स्वास्थ्य सर्वेक्षण २०२२ को तथ्यांकअनुसार नेपालमा राष्ट्रिय खोप तालिकाअनुसार पूर्ण खोप लगाएका बालबालिका ५२ प्रतिशत मात्र छन् । बागमती प्रदेशमा पूर्ण खोप लगाएका बालबालिका ८३ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ ।

दादुरा रुबेला खोप लगाउन छुटेमा अन्धोपन हुने, पखाला लाग्ने, कान पाक्ने, न्युमोनियमा हुने, इन्सेफ्लाइटिक्स रोग लाग्ने, कम्पन हुने र बालबालिकाको मृत्यु नै हुनसक्ने भएकाले नियमित खोप लगाउनुका साथै छुटेका ५ वर्षमुनिका बालबालिकाले पनि अनिवार्य खोप लगाउनुपर्ने स्वास्थ्य निर्देशनालयको भनाइ छ । अभिमुखीकरण कार्यक्रमम बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्का, स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजार, पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष ध्रुव अधिकारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।