हेटाैडा । मकवानपुरका विभिन्न क्षेत्रमा अहिले वर्षा भइरहेको छ। उत्तरी क्षेत्रको थाहा नगरपालिकाको सिमभञ्ज्याङमा अहिले पानीसँगै हिमपात पनि भइरहेको छ।

समुन्द्री सतहबाट २४८८ मिटर उचाइमा रहेको सिमभञ्ज्याङआसपास केहीबेरअघिबाट हिमपात सुरु भएको इलाका प्रहरी कार्यालय पालुङका प्रमुख प्रहरी निरीक्षक श्याम थापामगरले जानकारी दिए।

यता जिल्लाको भीमफेदी गाउँपालिकामा असिनापानी परेको छ। गाउँपालिका अध्यक्ष हिदम लामाले पालिकाको वडा नम्बर ८ को उच्च भूभाग र मकवानपुरगढी गाउँपालिकाको सीमावर्ती क्षेत्रमा हिउँ र असिना परेको भन्दै सामाजिक सञ्जालबाट भिडियोसहित जानकारी दिएका छन्।

हिउँदे वर्षा नहुँदा चिन्तित किसान फागुनको मध्यतिरै भए पनि वर्षा भएसँगै खुसी भएका छन्।