rpt

हेटौंडा । दश जोड दुई (प्लस टु) स्तरीय वक्तृत्वकला प्रतियोगितामा जेनिथ इन्टरनेशनल माविकी छात्रा अभिप्सा पौडेल प्रथम भएकी छिन् । ११४ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा जिल्ला अदालत बार एशोसिएसन मकवानपुर र गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा मकवानपुरको संयुक्त आयोजनामा भएको वक्तृत्वकलामा पौडेल प्रथम भएकी हुन् ।

नेतृत्वमा महिलाको अधिकार, अवसर र चुनौति बिषयक वक्तृत्वकला प्रतियोगितामा आधुनिक राष्ट्रिय माविका धिरज यादव द्वितिय, नारायणी कलेजकी छात्रा साक्षी भुजेल तृतिय र मकवानपुर बहुमुखी क्याम्पसकी सर्मिला उप्रेति सान्तवना भइन् । प्रथम, द्वितिय, तृतिय र सान्तवना हुनेलाई नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

त्यस्तै प्रतियोगितामा सहभागिलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा छ विद्यालयका ११ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । जेनिथ इन्टरनेशनल मावि, नारायणी कलेज, आधुनिक राष्ट्रिय मावि, मकवानपुर बहुमुखी क्याम्पस, श्रीजनज्योति मावि र जनप्रिय माविले प्रतियोगितामा सहभागिता जनाएका थिए ।

वक्तृत्वकला प्रतियोगितामा अनिता न्यौपाने, कृष्ण प्रसाद पोखरेल, विशाल अधिकारीले निर्णायकको भूमिका निर्वाह गरेका थिए । हेटौंडा उपमहानगरपालिका ११ नं. वडा अध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यता एवं गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा मकवानपुर अध्यक्ष रमिला सापकोटाको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा बुद्धशरण लामा, अधिवक्ता अप्सरा बस्नेत, रामचन्द्र न्यौपाने, सन्तोष पौडेल, कुमारी वाइवा, सर्मिला श्रेष्ठ, मन लामा, शिवा दोवकोटा, प्रमिला केसी, पार्वती चौलागाई, गोकर्ण तिवारी लगायतकाको सहभागिता रहेको थियो ।