हेटौँडा । सुन तस्करीमा संलग्न चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा बागमती प्रदेश सभा सचिवालयमा कार्यरत एक अधिकृत पक्राउ परेका छन्।

पक्राउ पर्नेमा हेटौँडा– १० स्थित बागमती प्रदेश सभा सचिवालयमा कार्यतर छैटाैँ तहका अधिकृत रामचन्द्र अर्याल रहेकाे मकवानपुर प्रहरीले जनाएको छ।

अर्यालले सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ र चिनियाँ नागरिक दावाजिन वाङलाई वंशजका आधारमा नेपाली नागरिकता दिलाएको प्रहरीले जनाएको छ। काभ्रे प्रशासन कार्यालयमा नासु हुँदा २० पुस ०७४ मा अर्यालले उनीहरूलाई नेपाली नागरिकता दिलाउन सहयोग पुर्‍याएको दाबी गरिएको छ।

अर्यालसहितका कर्मचारीमार्फत काभ्रे प्रशासनले सुन तस्करलाई वंशजका आधारमा नागरिकता दिएको प्रहरी अनुसन्धानबाट खुलेको थियो। उक्त घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान गरिरहेको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेको अनुरोधमा अर्याललाई बुधबार प्रदेश सभा सचिवालयबाट पक्राउ गरी काभ्रे प्रहरीको जिम्मा लगाएको मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए।