हेटौंडा । मकवानपुर प्रहरीले बालिकालाई ठक्कर दिएर फरार रहेको स्कुटर चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ग ८ प ४१५२ नम्बरको स्कुटर चालक हेटौंडा–५ पिप्लेका सागर पुडासैनी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

फरार पुडासैनीलाई प्रहरीले ९ दिनपछि पक्राउ गरेको हो । गत फागुन २५ गते शुक्रबार राति ८ बजेर ३० मिनेटको समयमा हेटौंडा उपमहानगरपालिका–५, पिप्लेस्थित हाम्रो पाठशाला छात्राबास नजिक भित्री सडकमा ७ वर्षीय विनिषा पुडासैनीलाई उक्त स्कुटरले ठक्कर दिएको थियो । स्कुटरको ठक्करबाट गम्भीर घाइते भएकी विनिषालाई उपचारको लागि हेटौंडा अस्पतालमा लागिएको थियो ।

अवस्था गम्भीर भए पश्चात उनलाई थप उपचारको लागि पुरानो मेडिकल कलेजमा चितवन रिफर गरिएको थियो । पुडासैनीको स्वास्थ्य अवस्था हालसम्म पनि गम्भीर नै रहेको प्रहरीले जनाएको छ । प्रहरीले स्कुटर चालक पुडासैनीमाथि अनुसन्धान गर्न जिल्ला अदालत मकवानपुरबाट ३ दिनको म्याद थप गरेको जनाएको छ ।