![](https://mail.anirudrakhabar.com/wp-content/uploads/2024/03/IMG_7073-1024x683.jpg)
![](https://mail.anirudrakhabar.com/wp-content/uploads/2024/03/IMG_7073-1024x683.jpg)
हेटौंडा । चेपाङ र तामाङ समुदायको बाहुल्यता रहेको मकवानपुरको विकट राक्सिराङमा बाल विवाह न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम गरिएको छ ।
जिल्ला समन्वय समिति मकवानपुरले राक्सिराङ ६ स्थित सिलिङ्गेको राष्ट्रिय माविको भवनमा सो सचेतनामूलक कार्यक्रमको आयोजना गरेको हो । यहाँ सानै उमेरमा विवाह गर्ने र बालबच्चा जन्माउनेको संख्या धेरै भएकाले जनचेतना जगाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो । अभिभावकमा चेतनाको कमि हुँदा सानै उमेरमा विवाह गरिदिँदा जन्मने बालबच्चामा समेत पोषणको अभाव हुने गरेको छ ।
सरोकारवाला सचेत भएमात्रै सरकारले लिएको लक्ष्य पूरा गर्न सकिने भन्दै पुर्ब भौतिक पूर्वाधार राज्य मन्त्री सन्त बहादुर चेपाङले पालिकाको सबै वडाको तथ्याङक तयार पारी निगरानी गर्नुपर्नेमा जोडदिए । पूर्व बागमती प्रदेश सभा सदस्य ओम बहादुर ग्लानले बाल विवाह न्यूनीकरण र रोक्नका लागि सबै सचेत हुनुपर्नेमा जोड दिए।
बाल विवाह रोक्नु सबैको जिम्मेवारी भएको बताउँदै सानै उमेरमा विवाह गरेर बच्चा जन्माउँदा कुपोषणको समस्या हुने गरेको राक्सिराङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देब चन्द्र गर्तौलाले बताए।
राष्ट्रिय माध्यामिक विद्यालय सिलिङ्गेमा भएको अन्तरक्रियामा बालबालिकासँगै रहने अभिभावक किन चनाखो रहन जरुरी रहन्छ भन्ने विषयमा अभिभावकलाई जानकारी गराइएको थियो । पछिल्लो समयमा बाल विवाहको कारण अभिभावक भएको तथ्यांक रहेको देखिन्छ ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानको सभाध्यक्षतामा भएको कार्यक्रम सुमित्रा थिङ, रामचन्द्र नेपाल लगायतकाले बाेलेकाे कार्यक्रममा स्थानीय अगुवा‚ जनप्रतिनिधि‚ सरोकारवाला‚ शिक्षक‚ अभिभावक‚ राजनीतिकर्मी‚ पत्रकार लगायतकाको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्