हेटौंडा । मकवानपुर सहित देशभरका शिवालयहरुमा भक्तजनहरुको भीड लागेको छ । बिहानैदेखि शिव मन्दिरमा भक्तजनहरुको भीड लागेको हो ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ मा रहेको भुवनेश्वर मन्दिर (पशुपति) मा दर्शनार्थीको लामै लाइन लागेको छ । लाइन व्यवस्थापन गर्न प्रहरी तथा स्वयम सेवक परिचालन गरिएको छ ।

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान शिवको पूजा–आराधना गरी मनाइँदैछ ।

व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।

यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन भगवान महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।