हेटौंडा । धार्मिक एवं पर्यटकीय क्षेत्रको रुपमा विकसित हुँर्दै गएको हेटौंडा उपमहानगरपालिका–१ भैरवडाँडा स्थित पाथिभरा मन्दिर परिसरमा भोलि शनिवार विहान ६ फिट अग्लो भैरवको मूर्ती अनावरण गरिने भएको छ ।

हेटौंडा–७ निवासी समाजसेवी एवं व्यवसायी नवराज खतिवडाको लगानीमा मूर्ति स्थापना गरिएको हो । ठूलो ढुंगामा कुँदेर बनाइएको भैरवको मूर्ति स्थानीय कालिगढद्वारा नै निर्माण गरिएको खतिवडाले बताए । त्यस्तै चैत २७ गतेबाट सुरु हुने नवोदेवी भागवत महायज्ञको पनि शनिबारबाट सुरु हुनेभएको छ ।

बाजागाँजा, झाँकी सहित कलश यात्रा हुने पाथिभरा मन्दिरका पिठाधिश गुरु देवीदासले बताए । सप्तशती चण्डी पाठ एवं नवभागवत पारायण तथा महायज्ञमा ११ जना ब्राम्हणद्धारा नियमित पाठ पारायण समेत गरिने भएको छ । नौ दिन सम्म चल्ने नवभागवत पारायण चैते दशैंका दिन समापन हुने पाथिभरा मन्दिर संरक्षण समितिका अध्यक्ष केशव प्रसाद देवकोटाले बताए । मन्दिरमा वैशाख १, ४ र ५ गते महापुजा हुने आयोजकले जनाएको छ ।