हेटौंडा । हेटौंडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहद्वारा सञ्चालित ३ दिने अवलोकन भ्रमण सम्पन्न भएको छ । समूहको चालु आव. ०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार भ्रमणको आयोजना गरिएको हो ।

समूहले कोशी प्रदेशको झापामा रहेको जमुनावारी सामुदायिक वन र दियालो सामुदायिक वनको स्थलगत अवलोकन गरेको समूहकी सचिव नानी मायाँ रुम्बाले बताईन । दियालो सामुदायिक वनका उपभोक्ता एवम सामुदायिक वन उपभोक्ता महासंघ, कोशीका उपाध्यक्ष चन्द्र तामाङले समूहले गरेका गतिविधीहरुको बारेमा जानकरी गराएका थिए । समूहले सामुहिक बेसार खेती प्राङारिक मल उत्पादन, सामुहिक माछापालन लगायतका कामहरु गर्दै आएको यस सामुदायिक वन ६ हजार ३ सय हेक्टरमा फैलिएको छ ।

यसैगरि जामुनवारी सामुदायिक वनका अध्यक्ष खेमराज सिटौलाले समूहले वन्यजन्तुको संरक्षण, पोखरी निर्माण र पार्क निर्माण गरेको बताए । उनले स्थानीय उपभोक्ताहरुको लागि जिविकोपार्जन, स्वास्थ्य, शिक्षा, सामाजिक विकास निर्माणमा काम गरेको बताए । अध्यक्ष सिटौलाले स्थानीय ४० जनालाई रोजगारी सिर्जना गर्नुको साथै बार्षिक सरदर ५ करोडको आम्दानी गरेको बताए ।

सहभागीहरुले ईलाम जिल्लामा रहेको चियावारीको अवलोकन गर्नुको साथै विभिन्न धार्मिक क्षेत्रको समेत अवलोकन गरेका थिए । समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको नेतृत्वमा गएको भ्रमण दलमा कार्यसमिति, लेखा समिति, सल्लाहकार, महिला उपसमिति, कर्मचारी र उपभोक्ता गरि ४२ जनाको सहभागिता थियो ।