हेटौंडा । बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री केशव प्रसाद पोख्रेलले शुक्रवार ७८ बुँदे प्रतिवद्धता सार्वजनिक गरेका छन ।

मन्त्री भएर आएपछी गरिने कामको प्राथमिकता बनाउँदै उनले ७८ बुँदे प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन । पत्रकार सम्मेलन गर्दै उनले समय सापेक्ष वन ऐन, नियमावली, वातावरण ऐन, वातावरण नियमावली र नीतिहरु तयार गरिने बताए ।

बागमती प्रदेशका सबै जिल्लामा वन पैदावारको सहज आपूर्तिको लागि सबै जिल्लाहरुमा जिल्ला वन पैदावार आपूर्ति समिति गठन गरिने बताए । अतिक्रमण नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन कार्यविधि बनाई लागु गरिने बताउँदै भन्नुभयो–’वन संरक्षण तथा व्यवस्थापनमा अहोरात्र खटिने वन कर्मचारी र सामुदायिक वन उपभोक्ता समूहको मनोबल वृद्धि गर्न बिमाको व्यवस्था गरिनेछ ।

विकास निर्माण कार्यको दिगोपना कायम गर्न र वातावरण मैत्री बनाउन विकास कार्यमा विनियोजन हुने बजेटको निश्चित प्रतिशत रकम वातावरण संरक्षण कार्यमा छुट्याउने नीतिगत व्यवस्था गर्न पहल गरिनेछ। प्रदेश भित्रको राष्ट्रिय वन क्षेत्र र वन सिमाङ्कनको अवस्था अध्यावधिक गरी पुस्तिका प्रकाशन गरिनेछ ।

वन मन्त्री पाखे्रलले निजी वन क्षेत्रको वातावरण संरक्षण र आर्थिक क्षेत्रमा उल्लेखनीय योगदान भएकाले निजी वन व्यवस्थापन कार्यविधि बनाई प्रभावकारी कार्यान्वयन गरिने बताए । वन क्षेत्रको भोगाधिकार पाएका निकायहरुको तथ्याङ्क अध्यावधिक गरी सम्झौताका शर्तहरु र वातावरणीय अध्ययन प्रतिवेदन अनुसार पुरा गर्ने दायित्वको अनुगमन गर्ने र पालना नभएको पाइएमा कानून बमोजिम कारवाहीको प्रक्रिया अघि बढाइने प्रतिवद्धता व्यक्त गरे ।

ऐतिहासिक÷ धार्मिक÷ पर्यटकीय÷ पुरातात्त्विक महत्वका स्थानलाई प्रदुषणमुक्त गर्न स्थानीय तह तथा संघ संस्थाको सहकार्य एवं समन्वयमा सरसफाई अभियान सञ्चालन गरिनेछ । साथै हरियाली प्रबर्द्धनका कार्यक्रम सञ्चालन गरिनेछ । प्रदेशमा सञ्चालनमा रहेका उद्योग, कलखारखाना, प्रतिष्ठान तथा अस्पतालहरुको वातावरणीय अध्ययन प्रतिवेदनमा उल्लेख भए अनुसारको वातावरण कानून तथा वातावरण व्यवस्थापन योजनाको परिपालन अनुगमन गरिनेछ र कार्यान्वयन गर्ने गराउने नीति लिइने मन्त्री पोखरेलले पत्रकार सम्मेलनमा जानकारी दिए ।

वन डढेलो नियन्त्रणका लागि हरेक जिल्लामा हरित वन दस्ता निर्माण गरी तालिम तथा वन डढेलो नियन्त्रणका औजार सहित प्रभावकारी रुपमा डढेलो नियन्त्रण गरिनेछ । हरित वन दस्तालाई अग्निरेखा निर्माण, वन डढेलो सचेतना कार्यक्रम लगायतका डढेलो पूर्व तयारी, व्यवस्थापन तथा डढेलो प्रतिकार्यमा परिचालन गरिनेछ ।

सम्भावित दुर्घटनाबाट हुने घाइतेको उपचार एवं राहतका लागि हरित वन दस्ताको दुर्घटना बिमा गरिने उल्लेख छ । डढलो नियन्त्रण कार्यमा मृत्यु हुने र क्षति भोगेकाहरुलाई प्रदेश विपद् व्यवस्थापन मार्फत क्षतिपुर्ती उपलब्ध गराईनेछ । वन डढेलो लगाउँने कार्यमा संलग्न व्यक्तिहरुलाई कारवाहीको दायरमा ल्याईने प्रतिवद्धतापत्रमा उल्लेख छ ।

पत्रकार सम्मेलनमा वन तथा वातावरण मन्त्रालयका सचिव धिरेन्द्र कुमार प्रधान, सूचना अधिकारी प्रेम कुमार साह, वन अधिकृत शिव सापकोटा लगायतकाको सहभागिता रहेको थियो ।