हेटौंडा । बागमती प्रदेशका काठमाण्डौँ, ललितपुर र भक्तपुर बाहेकका १० जिल्लामा पछिल्लो समय आर्थिक अपराधका घटना बढेको छ । सङ्गठित तथा आर्थिक अपराध सम्बन्धित घटना बढेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाको तथ्याङ्कले देखाएको छ ।

प्रदेशको तीन वर्षको तथ्याङ्कले बैंकिङ कसूर र वित्तीय अपराधका घटना उल्लेख्य रुपमा वृद्धि भएको देखाएको हो । सङ्गठित तथा आर्थिक अपराध सम्बन्धित घटना आर्थिक वर्ष २०७८/७९ मा ५६३ भएकोमा आव २०७९/८० मा बृद्धि भइ ९०४ पुगेको थियो भने चालु आर्थिक बर्ष २०८०/८१ को साउनदेखि चैत मसान्तसम्म ९६० पुगेको छ । पछिल्लो तीन आवको तथ्याङ्क हेर्दा चालु आवको चैत सम्म आपराधिक घट्ना बढेको तथ्याङ्कले देखाउँछ ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आवको चैत सम्म ज्यान सम्बन्धित ६९५, आत्महत्या सम्बन्धित ७१३, चोरी सम्बन्धित २००, सामाजिक अपराध सम्बन्धित ५९६, सवारी सम्बन्धित २३३ र अन्य ३३७ अपराधसँग सम्बन्धित घटना घटेका छन् । प्रहरीको तथ्याङ्क अनुसार मुद्दा दर्ता तथा अपराधमा बढोत्तरी भएको छ । आव ७८/७९ को अनुपातमा ७९/८० मा ६.२२ प्रतिशतले मुद्दा दर्ता वृद्धि भएको तथ्याङ्क छ । आव २०७८/७९ मा चारहजार ४०५ मुद्दा दर्ता भएकोमा आव ७९/८० मा बढेर चारहजार ६७९ पुगेको थियो भने चालु आवको चैत मसान्त सम्म तीनहजार ७३४ मुद्दा दर्ता भएको छ ।

त्यस्तै चालु आवको चैत मसान्त सम्म २८७ लागूऔषध, ३६ कर्तव्य ज्यान, २०४ जबरजस्ती करणी, ६ मानव बेचबिखन तथा ओसार पसार, ५ अपहरण तथा शरीर बन्धक, २ डाँका र अन्य २० अपराधका घटना भएको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

त्यस्तै महिला तथा बालबालिका विरुद्धको अपराध पनि बढ्दै गएको छ । चालु आवको चैत मसान्त सम्म २०४ वटा जबरजस्ती करणी, ३० बहुविवाह, ३७ जबरजस्ती करणी उद्योग, ६ वटा मानव बेचबिखन तथा ओसारपसार र २ वटा बाल विवाह सँग सम्बन्धित अपराधका घटना भएका छन ।