हेटौंडा । हेटौँडामा कैँची प्रहारबाट एक महिला घाइते भएकी छिन । शनिवार दिउँसो भतिजले आफ्नै काकीलाई कैँची प्रहार गर्दा काकी गम्भीर घाइते भएकी हुन ।

हेटौँडा–९ प्रगतिटोल बस्ने ५० वर्षीय कमल परियारले आफ्नै काकी ६५ वर्षीया गोमा दमाईलाई कैँचीले टाउकोमा प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । कमलले मापसे गरी काकीलाई कैँचीले झटारो हानेर घाइते बनाएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते गोमा बेहोस रहेको र कमललाई नियन्त्रणमा लिएर घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।