
हेटौँडा । आधारभूत तह (कक्षा ४–७) का लागि सक्षम शिक्षक तयार गर्ने उद्देश्यका साथ हेटौँडामा नवोदय इनोभेसन सेन्टरले कार्य तयारी गरेको छ ।
एक वर्षे डिप्लोमा कोर्स सञ्चालन गरी कक्षा ४–७ का लागि बालकेन्द्रित शिक्षण गर्न सक्ने शिक्षक तयार गर्न लागिएको बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । तालिममा सहभागी हुनेलाई उचित रोजगारीको व्यवस्था गर्ने प्रतिवद्धता पनि जनाइएको छ ।
बालबालिका केन्द्रित शिक्षण सिकाइलाई जीवन्त बनाउन आवश्यक सहजीकरण गर्दै विद्यालयमा शैक्षिक क्रान्तिको अनुभूति दिलाउने उद्धेश्यका साथ नवोदय इनोभेसन सेन्टर स्थापना गरिएको तालिम कार्यक्रम प्रमुख नरेन्द्रकुमार नगरकोटीले जानकारी दिए । उनका अनुसार कक्षा १२ उत्तीर्ण भएका विद्यार्थीहरूले भविष्यमा एक सफल शिक्षक बन्ने इच्छाशक्ति छ भने तालिममा सहभागी हुन सक्नेछन् ।
तालिमको पाठ्यक्रममा शिक्षा दर्शन, भाषा साहित्य, विज्ञान, सामाजिक अध्ययन, गणित, शारीरिक शिक्षा, संगीत, कला, नृत्य, बाल विकास र सिकाइ उपलब्धि जस्ता विषयहरू समावेश गरिएको पत्रकार सम्मेलनमा जनाइएको छ । प्रत्येक विषयको लागि ३६ देखि ४८ घण्टाको पाठ्यक्रम निर्धारण गरिएको उनले बताए । पत्रकार सम्मेलनमा कोर्सको मासिक शुल्क ५ हजार ५ सय ५० रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्