हेटौँडा । एडिस प्रजातिको लामखुट्टेको टोकाइबाट हुने डेंगु सङ्क्रमणबाट बागमती प्रदेशमा एक वर्षको अवधिमा साढे एघार हजार जना प्रभावित भएका छन ।

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८०–८१ मा प्रदेशका १३ जिल्लामा डेंगु सङ्क्रमणबाट ११ हजार ८९४ जनसङ्ख्या प्रभावित भएका हुन । गत आवमा डेंगु सङ्क्रमणका कारण छ जनाको मृत्यु भएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ जना डेंगु सङ्क्रमित थपिएका छन् ।

गत आवको साउनमा दुई हजार ५१८‚ भदौमा दुई हजार ८०९‚ असोजमा दुई हजार ८१६‚ कार्तिकमा दुईहजार ७०‚ मङ्सिरमा ७६९‚ पुसमा २१५‚ माघमा ६७‚ फागुनमा ७९, चैतमा २०९, वैशाखमा १३६, जेठमा ११६ र असारमा ९० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा.रविन भुसालले जानकारी दिए ।

उनका अनुसार गत आवमा सबैभन्दा बढी धादिङमा डेंगु पुष्टि भएको थियो । मन्त्रालयको तथ्याङ्क अनुसार धादिङमा तीन हजार ५४५ र सबैभन्दा कम रसुवामा तीन जनामा डेंगु पुष्टि भएको हो । तथ्याङ्क अनुसार गत आवमा काठमाडौँमा तीन हजार १८१‚ चितवनमा एकहजार ७७५‚ ललितपुरमा एकहजार ४५९‚ मकवानपुरमा ८९३‚ भक्तपुरमा ५२२‚ काभ्रेपलाञ्चोकमा २०७ जनामा डेंगु पुष्टि भएको थियो ।

त्यस्तै नुवाकोटमा ९१‚ दोलखामा ८०‚ रामेछापमा ३८‚ सिन्धुपाल्चोकमा ६७ र सिन्धुलीमा ३३ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी भुसालले जानकारी दिए । डेंगु सङ्क्रमणबाट आफू र आफ्ना परिवारलाई जोगाउन लामखुट्टेको टोकाइबाट बच्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । सुत्दा झुलको प्रयोग गर्न, लामखुट्टेको टोकाइबाट बचाउने धूप तथा झोलको (रिपेलेन्ट) प्रयोग गर्न, ट्याङ्की र कुलरहरू कम्तीमा हप्तामा एक पटक सरसफाइ, वरपर पानी जम्न नदिने, पूरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउन र डेंगुका कुनै पनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्थामा जानका लागि मन्त्रालयका सूचना अधिकारी डाक्टर भुसालले आग्रह गरे ।