हेटौंडा– हेटौंडाका चार जना इन्जिनियरले नेपाल इन्जिनियर्स एसोसिएसनको ३३ औं केन्द्रीय कार्यकारिणी समिति र देस्रो बागमती प्रदेश समितिको निर्वाचनमा उम्मेदबारी दिएका छन् ।
हेटौंडा घर भई सरकारी तथा निजी क्षेत्रमा काम गर्दै आएका चार जनाले केन्द्रीय कार्यकारिणी समिति सदस्य, बागमती प्रदेश अध्यक्ष र प्रदेश सदस्यमा उम्मेदबारी दिएका हुन् । २७ फागुनमा हुने इन्जिनियर्स एसोसिएसनको केन्द्रीय र प्रदेश निर्वाचनअन्तर्गत् बागमतीको मकवानपुर, चितवन र काठमाडौंमा मतदान केन्द्र तोकिएको छ ।
एसोसिएसनको केन्द्रीय कार्यकारिणी समिति सदस्यमा हेटौंडा–४ का सुरज गौतमले डा. सुरज लामिछाने नेतृत्वको समूहबाट उम्मेदवारी दिएका हुन् । गौतम ‘आइआरडी योङ साइन्टिष्ट’ अवार्ड बिजेता हुन् । गौतम इन्स्टिच्युट अफ हिमालयन रिक्स रिडक्सनका कार्यकारी निर्देशक हुन् भने नेपाल फ्लाइङ ल्याब्सका निर्देशक हुन् ।
यसअघि एसोसिएसन बागमती प्रदेश सदस्यको जिम्मेवारी सम्हालिसकेका गौतमले विगत ६ वर्षदेखि शहरी विकास योजना तथा विपद् जोखिम व्यवस्थपानको क्षेत्रमा अध्ययन, अनुसन्धान, पराशर्म तथा कार्यान्वयनमा काम गरिरहेका छन् ।
एसोसिएसनको बागमती प्रदेश अध्यक्षमा हेटौंडा–११ नवलपुरका विनोद सापकोटाले उम्मेदवारी दिएका छन् । सापकोटा इन्जिनियरिङ अध्ययन संस्थान, थापाथली क्याम्पसका उपप्राध्यापक हुन् । हेटौंडा–४ का प्रवेशराज देवकोटाले एसोसिएसन बागमती प्रदेश सदस्यमा उम्मेदवारी दिएका छन् । देवकोटा नेपाल विद्युत प्राधिकरण कुलेखानी तेस्रोका इन्जिनियर हुन् ।
यसैगरी, नेपाल टेलिकम हेटौंडा शाखा प्रबन्धक बसन्त लिङथेपले एसोसिएसन केन्द्रीय कार्यकारिणी समितिको इन्जिनियरिङ परिषद् समूहमा उम्मेदवारी दिएका छन् । इन्जिनियरिङ क्षेत्रमा २५ वर्षदेखिअनवरत काम गरिरहेका लिङथेपसँग नेपाल टेलिकमको विभिन्न निर्देशानलयमा र विभागमा कार्यालय प्रमुख र सिस्टम प्रमुख भई कार्य गरेको अनुभव छ ।
गतवर्ष चैत २४ गते तोकिएको एसोसिन केन्द्रीय र प्रदेश समितिको निर्वाचन कोरोना महामारीका कारण पटक–पटक सारिँदै आएको थियो । यसअघि ७ माघमा गर्ने भनिएको निर्वाचन प्रक्रिया पुनः सरेर २७ फागुनलाई तोकिएको हो । एसोसिएसनमा आबद्ध देशभर २१ हजार ६ सय ८० जना मतदाताले निर्वाचनमा मतदान गर्ने छन् ।
मतदान केन्द्र हेटौंडाका निर्वाचन अधिकृत इन्जिनियर सुदीप फुयाँलले बागमती प्रदेशभर १२ हजार ६ सय ९१ मतदाता रहेको जानकारी दिए । हेटौंडा मतदान केन्द्रबाट एक सय ५४ जनाले मतदान गर्ने निर्वाचन अधिकृत फुयाँलले बताए । हेटौंडा–१०, स्थित नेपाल विद्युत प्राधिकरणको क्षेत्रीय कार्यालयमा मतदान केन्द्र तोकिएको छ ।
पत्रकार नबिन तिमल्सिनाको सहयोगमा तयार पारिएको समाचार सामाग्री
प्रतिक्रिया दिनुहोस्