हेटौँडा । बागमती प्रदेशका काठमाण्डौँ, ललितपुर र भक्तपुर बाहेकका १० जिल्लामा दश प्रतिशतले अपराधका घटना बढेको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले सार्वजनिक गरेको तीन आर्थिक वर्षको तथ्याङ्क अनुसार गत आवमा मुद्दा दर्ता र अपराधका घटना बढेको हो ।

आव २०७८-७९ मा चार हजार ४०५ र आव २०७९-८० मा चार हजार ६७९ अपराधका घटना भएकोमा गत आव २०८०-८१ मा पाँच हजार १९७ मुद्दा दर्ता र अपराधका घटना भएका छन । प्रहरीले दिएको तथ्याङ्क अनुसार अघिल्ला आवको तुलनामा गत आवमा ९ दशमलव ९६ प्रतिशतले अपराध बढेको देखिन्छ ।

गत आवमा सङ्गठित तथा आर्थिक अपराध सम्बन्धित घटना बढेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाको तथ्याङ्कले देखाएको छ । प्रदेशको तीन वर्षको तथ्याङ्कले बैंकिङ कसूर र वित्तीय अपराधका घटना उल्लेख्य रुपमा वृद्धि भएको देखाएको हो । सङ्गठित तथा आर्थिक अपराध सम्बन्धित घटना आर्थिक वर्ष २०७८-७९ मा ५६३ भएकोमा आव २०७९-८० मा बृद्धि भइ ९०४ पुगेको थियो भने गत आव २०८०-८१ को साउनदेखि असार मसान्तसम्म एकहजार ३३४ पुगेको छ । पछिल्लो तीन आवको तथ्याङ्क हेर्दा गत आवमा आपराधिक घट्ना बढेको तथ्याङ्कले देखाउँछ ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आवमा ज्यान सम्बन्धित ९९१, आत्महत्या सम्बन्धित ९९७, चोरी सम्बन्धित २६५, सामाजिक अपराध सम्बन्धित ८४९, सवारी सम्बन्धित ३१० र अन्य ४७१ अपराधसँग सम्बन्धित घटना घटेका छन् ।

त्यस्तै गत आवमा ३५२ लागूऔषध, ४८ कर्तव्य ज्यान, २८६ जबरजस्ती करणी, ८ मानव बेचबिखन तथा ओसार पसार, ५ अपहरण तथा शरीर बन्धक, २ डाँका र अन्य २७ अपराधका घटना भएको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । त्यस्तै महिला तथा बालबालिका विरुद्धको अपराध पनि बढ्दै गएको छ । गत आवमा २८६ वटा जबरजस्ती करणी, ४६ बहुविवाह, ५१ जबरजस्ती करणी उद्योग, ८ वटा मानव बेचबिखन तथा ओसारपसार र २ वटा बाल विवाह सँग सम्बन्धित अपराधका घटना भएका छन । अघिल्ला आवको तुलनामा गत आवमा क्रमश अपराधका घट्ना बाहिर आएको तथ्याङ्कले देखाउँछ ।