हेटाैँडा । सेभ द चिल्ड्रेनको ग्लोबल फन्ड अनुदानमार्फत निर्माण भएको स्वास्थ्य सामग्री भण्डारण भवन बागमती प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ।
तीन करोड २८ लाखको लागतमा निर्माण भएको भवन बिहीबार सेभ द चिल्ड्रेन नेपालकी निर्देशक तारा क्षेत्रीले प्रदेशका स्वास्थ्यमन्त्री किरण थापालाई हस्तान्तरण गरेकी हुन्।
४७० वर्गमिटर क्षेत्रफलमा निर्माण भएको र सिसिटिभी क्यामेराको निगरानीमा रहेको उक्त भवन अपांगतामैत्री, फायर अलार्म प्रणालीयुक्त र चौबीसै घण्टा सौर्य ऊर्जा ब्याकअप प्रणालीजडित रहेको सेभ द चिल्ड्रेन नेपालका सञ्चार तथा मिडिया निर्देशक आयुष श्रेष्ठ जोशीले जानकारी दिए।
भवन हस्तान्तरण कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री थापाले आम नागरिकको पहुँचमा गुणस्तरिय स्वास्थ्य सेवा पुर्याउन प्रदेश सरकार लागिपरेको बताए। उनले त्यसका लागि तीनै तहको सरकारसँगै निजी र गैरसरकारी संस्थाहरूको सहयोग आवश्यक रहेको औँल्याए।
स्वास्थ्य उपचार सेवालाई गुणस्तरीय बनाउने सन्दर्भमा प्रदेश सरकारसँग पर्याप्त भौतिक संरचना नहुँदा औषधि तथा भ्याक्सिनजन्य सामग्रीहरूको भण्डारणमा समस्या हुँदै आएको मन्त्री थापाले बताए। उनले सेभ द चिल्ड्रेनको सहयोगमा निर्माण भएको स्वास्थ्य सामग्री भण्डारण भवनबाट औषधिजन्य पदार्थको गुणस्तर कायम गर्न तथा व्यवस्थापनमा भोग्दै आएको समस्या समाधान हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा सेभ द चिल्ड्रेन, नेपालकी राष्ट्रिय निर्देशक तारा क्षेत्रीले प्रदेश सरकारलाई आवश्यक औषधिहरूको आपूर्ति र मागको व्यवस्थापनमा भवनले सहयोग पुर्याउने बताइन्। क्षयरोग, औलो, एचआइभीसम्बन्धी स्वास्थ्य सेवाहरू र औषधिहरु प्रभावित नागरिकको पहुँचमा पुर्याउन तथा अस्पताल र फार्मेसीहरूबीचको समन्वय सुधारमा काम गर्न भण्डारण केन्द्र महत्त्वपूर्ण हुने उनको भनाइ थियो।
प्रतिक्रिया दिनुहोस्