
हेटाैँडा । जिल्लाको एकमात्र पर्यटकीय गाउँ चित्लाङमा तीन दिनदेखि चल्दै आएको कृष्णलीलासहितको कार्तिके नाच अजंगको राँगाको बलि दिएर सम्पन्न भएको छ । चित्लाङ माझगाउँको डबलीमा शुक्रबार बेलुकादेखि सुरु भएको कृष्णलीलासहितको कार्तिके नाच आइतबार राँगाको बलि दिएसँगै समापन भएको हो ।
जात्रा भर्न आएका हजारौंको माझमा भैरवको मुखुण्डो लगाएका कालभैरवले अजङ्गको राँगाको घाँटी रेटेर रगत पिएका थिए । गणेश, वराही, महालक्ष्मी र कुमारीको मुखुण्डो लगाएकाहरूले पनि भुइँमा लडेको रागाँको घाँटीमा मुख लगाएर रगत पिए । कृष्णले कंशलाई मारेको खुसीमा उनीहरूले राँगाको बलि दिएका हुन् । बलि दिएको राँगाको मासु प्रसादका रूपमा नेवार समुदायमा बाँड्ने चलन छ ।
पाटन र कीर्तिपुरबाट स्थानान्तरण भएर आएका चित्लाङका नेवार समुदायले करिब ५ सय वर्षदेखि यो जात्रा दसैंको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि तीन दिनसम्म संचालन गर्ने गर्छन् । मेलामा बनिया र बाठो नाच पनि प्रदर्शन गरिन्छ । बनिया नाच चित्लाङको मौलिक नाच हो । माझगाउँको डबलीमा संचालन गरिएको उक्त मेलामा गणेश, भैरव, बाराही, कुमारी, महालक्ष्मी देवी नाच, लाखे, ख्याक, कवे, बाथः, बनिया, सिकारी, सारः, नागा, महादेव नाचका साथै पौराणिक कथामा आधारित ‘गुलबकावली’ को नाट्य प्रस्तुति समेत प्रदर्शन गरिएको थियो ।
चित्लाङका नेवार समुदायमात्र होइन, बज्रवराही, मार्खु, कुलेखानीलगायतका क्षेत्रका स्थानीयबासी पनि रातभर जात्रामा बसेका थिए । वृद्धदेखि वालकसम्म जात्रामा सहभागी थिए । मेलामा पुरुषको भन्दा महिलाको संख्या अधिक थियो । गाउँका थकालीका रूपमा रहेका ८० वर्षीय लक्ष्मीबहादुर बलामीले भने, ‘यो कृष्णलीला र कार्तिके नाच ५ सय वर्षदेखि यहाँ संचालन भइरहेको छ । कृष्णलीलामा नेवारी, हिन्दी र नेपाली भाषा प्रयोग गर्ने गरिएको छ ।’
यो मेला पाँच सय वर्षअघि ललितपुरको पाटनबाट सापटी ल्याएको भन्ने किंवदन्ती रहेको स्थानीय युवक निर्मल वलामीले बताए । ‘त्यसबेलादेखि यो निरन्तर रूपमा संचालन हुँदै आएको छ,’ उनले भने, ‘बीचमा एक–दुई वर्ष मेला संचालन रोकियो थियो ।’ मेला भएन भने गाउँमा अनिष्ट हुने, रोगव्याधी फैलिने विश्वास स्थानीयाबासीमा छ ।
सांस्कृतिक र धार्मिक स्थलको पहिचान बोकेको थाहा नगरपालिका–९ मा रहेको चित्लाङ मकवानपुर जिल्लाको एकमात्र ऐतिहासिक थलो हो । सरकारले ७ वर्षअघि चित्लाङलाई पर्यटकीय गाउँ घोषणा गरेको थियो । चित्लाङको माझ गाउँमा सम्राट अशोकले निर्माण गरेको अशोकालीन चैत्य छ ।
कृष्णलीला र कार्तिक नाच बर्सेनि संचालन गर्न माझगाउँका बासिन्दाले प्रति–घरधुरी २ हजार रुपैयाँ चन्दा संकलन गर्छन् । जात्रा प्रदर्शन गर्न एक महिनादेखि यहाँ तालिम दिने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्