
हेटाैँडा । भक्तपुर अस्पताल प्रदेशको उत्कृष्ट अस्पताल घोषित भएको छ । बागमती प्रदेशमातहत रहेका प्रादेशिक अस्पतालहरूमध्ये सबैभन्दा बढी अंक ल्याउँदै भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट अस्पताल घोषित भएको हो। प्रदेशको राजधानी हेटौँडामा भएको प्रदेशकाे स्वास्थ्य मन्त्रालयअन्तर्गतको वार्षिक समीक्षा गोष्ठीको समापनका अवसरमा भक्तपुर अस्पताललाई उत्कृष्ट अस्पताल घोषित गरिएको हो । अस्पतालले प्रदान गर्ने सेवासुविधा, कार्यसम्पादनलगायत विभिन्न शीर्षकअन्तर्गत भएको मूल्यांकनमा कुल १०० अंकमध्ये ८३.४४ अंक प्राप्त गर्दै भक्तपुर उत्कृष्ट अस्पताल घोषित भएको हो ।
यसैगरी, सिन्धुली जिल्लाको सिन्धुली अस्पताल प्रदेशमा दोस्रो हुन सफल भएको छ । सिन्धुली अस्पतालले १०० अंकमध्ये ७८.४७ प्राप्त गरेको थियो । यस्तै, प्रदेशमा धादिङ अस्पताल तेस्रो भएको छ । धादिङले ७७.४७ अंक प्राप्त गरेको थियो ।
यसैगरी, जनस्वास्थ्य कार्यालयअन्तर्गत भएको मूल्यांकनका आधारमा ७५.२४ अंकसहित जनस्वास्थ्य कार्यालय ललितपुर पहिलो स्थानमा रहँदै उत्कृष्ट भएको छ । दोस्रो स्थानमा जनस्वास्थ्य कार्यालय चितवन रहेको छ । चितवनले ७३.७५ अंक प्राप्त गरेको छ भने ७२.४९ अंक सहित जनस्वास्थ्य कार्यालय मकवानपुर तेस्रो स्थानमा रहेको छ ।
आयुर्वेदिक तथा वैकल्पिक चिकित्सातर्फ ८८.२० अंकसहित आयुर्वेदिक तथा वैकल्पिक चिकित्सालय काठमाडौं पहिलो स्थानमा रहन सफल भएको छ भने ८८.१० अंकसहित आयुर्वेदिक तथा वैकल्पिक चिकित्सालय मकवानपुर दोस्रो र ८३.२० अंकसहित आयुर्वेदिक तथा वैकल्पिक चिकित्सालय भक्तपुर तेस्रो स्थानमा रहेको छ ।
उत्कृष्ट भएका अस्पताल, जनस्वास्थ्य कार्यलय र आयुर्वेदिक तथा वैकल्पिक चिकित्सालयहरूलाई बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ र प्रदेशका स्वास्थ्यमन्त्री किरण थापालगायतले सम्मानपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री लामा र स्वास्थ्यमन्त्री थापाले प्रदेशको स्वास्थ्य क्षेत्रको समग्र सुधारका लागि प्रदेश सरकार सक्रियताका साथ अघि बढेको बताए ।
उनीहरूले प्रदेश सभाबाट प्रदेश स्वास्थ्य ऐन पारित भएको र त्यसलाई कार्यान्वयन गरेर स्वास्थ्य क्षेत्रका समस्याहरू हल गर्दै जानेतर्फ सरकार गम्भीर रहेको बताए । प्रदेशका आमनागरिकलाई गुनासोरहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्यसम्बद्ध व्यक्तिहरूको भूमिका महत्त्वपूर्ण हुने भन्दै सेवाभावले काम गर्न आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्