
हेटाैँडा । मकवानपुर जिल्लाकै सर्वोत्कृष्ट विद्यालयका रूपमा स्थापित भुटनदेवी र आधुनिक राष्ट्रिय उच्च माध्यमिक विद्यालयको एकीकरण प्रक्रिया अगाडि बढाइएको छ । लामो समयदेखि शैक्षिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याउँदै आएको दुवै विद्यालयलाई मर्ज गरी मेगा विद्यालयका रूपमा अगाडि बढाउन मर्ज गर्न लागिएको हो ।
हेटौंडालाई शैक्षिक हबका रूपमा विकास गर्ने उद्देश्यले दुवै विद्यालय व्यवस्थापन समितिको निर्णय, वडा कार्यालयको सिफारिससहित वडाध्यक्ष, दुवै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकसहितको टोलीले हेटौंडा नगर प्रमुख मीनाकुमारी लामालाई आवश्यक पत्र बुझाएर प्रक्रिया अगाडि बढाउन आग्रह गरेका हुन् ।
‘हेटौंडा पछिल्लो समय शैक्षिक हबको रुपमा विकास भइरहेको छ । अब भौतिक पूर्वाधारको निर्माण गरी दश हजार विद्यार्थीलाई सुविधासम्पन्न रूपमा अध्ययन गराउने उद्देश्यले मर्जर प्रक्रिया अगाडि बढाउन लागिएको हो,’ हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ का अध्यक्ष नवीन सिग्देलले भने । हाल दुवै विद्यालयमा गरी करिब ५ हजार विद्यार्थी अध्ययन गर्छन् । हाल दुवै विद्यालयमा गरी वार्षिक रूपमा भर्ना हुन चाहने विद्यार्थीको संख्या दश हजारको हाराहारीमा रहेको छ । बर्सेनि आन्तरिक परीक्षाबाट विद्यालयमा विद्यार्थी भर्ना गर्ने गरिएको छ ।
हेटौंडामा बारा, पर्सा, रौतहट, सर्लाहीलगायत तराईका जिल्लाबाट अध्ययनका लागि आउने विद्यार्थीको संख्या बर्सेनि बढ्दो अवस्था रहेको अध्यक्ष सिग्देलले बताए । उनका अनुसार दुवै विद्यालय मर्ज गरेपश्चात भुटनदेवी माविको साधन र स्रोत पूर्ण रूपमा सदुपयोग हुने र आधुनिकलाई आवश्यक स्रोतको समेत सहजै पूर्ति हुनेछ ।
‘हेटौंडा उपमहानरपालिकाले अब भौतिक पूर्वाधार निर्माण र दुवै विद्यालयको इतिहासलाई जोगाउने गरी उपमहानगरपालिकाको कार्यपालिका बैठकबाट एउटा कार्यदल र कार्यविधि बनाउन जरुरी छ । त्यस कार्यदलको अध्ययन प्रतिवेदनपश्चात संघ र प्रदेश सरकारले समेत आवश्यक लगानी यस विद्यालयमा गर्नुपर्छ,’ उनले भने । दुवै विद्यालय मर्जपश्चात खेलकुद मैदान, विज्ञान ल्याब, पुस्तकालय तथा अन्य भौतिक पूर्वाधार निर्माण हुने विश्वास वडा अध्यक्ष सिग्देलको छ ।
प्रतिक्रिया दिनुहोस्