
हेटौँडा । बस्तीनजिकैको बारीमा सुकेको मकैका बोट, केराका पात र स्याउलाले बारबेर गरेर खोर निर्माण गरिएको छ । खोरभित्र बाख्राको पाठोलाई घाँससहित राखिएको छ । बस्तीमा लामो समयदेखि चितुवाले दुःख दिन थालेपछि हेटौँडा उपमहानगरपालिका–१३ स्थित पदमपोखरी र बेलडाँडाबिचमा रहेको मिलन चोकमा चितुवालाई पासो पार्न यसरी राखिएको हो ।
पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा केही समययता चितुवालगायतका वन्यजन्तुको आतङ्क फैलिएपछि निकुञ्ज कार्यालयले चितुवा समाउन सो क्षेत्रमा क्यामरा जडान गरी खोर राखेको हो । क्यामरा रुखमा जडान गरिएको छ र खोरमा चितुवा वा जङ्गली जनावर परे/नपरेको कार्यालयबाटै निगरानी गर्न सकिन्छ ।
निकुञ्ज कार्यालय आधाभारका वरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडा निकुञ्जको मध्यवर्ती क्षेत्र हेटौँडा उपमहानगरपालिका–१३ मा चितुवाको आतङ्क बढ्न थालेपछि चितुवालाई समाउन फलामे खोरको पासो थापिएको बताए। उनले पासोभित्र चितवा वा अन्य जङ्गली जनावर परेपछि आफैँ खोर थुनिने र खोरमा रहेको पाठोलाई समेत कम क्षति हुने भएकाले नयाँ प्रविधि अपनाइएको बताए ।
“बाघ भए डार्ट (सुईमार्फत औषधीको प्रयोग गरी बेहोस बनाउने) प्रयोग गरी नियन्त्रणमा लिन सकिन्थ्यो,” खतिवडाले भने, “चितुवा भएकाले बाख्राको पाठो खोरमा राखेर लाइभ ट्र्याप गर्न लागेको हो ।” “नियन्त्रणमा आएपछि निकुञ्ज कार्यालय ल्याएर सुरक्षित रूपमा छाडिन्छ,” उनले अगाडि भने, “अहिले खोर राखिएको स्थानमा चितुवा नपरेमा स्थान परिवर्तन गरेर राखिन्छ, पाठोलाई दिनभर घाँस खान दिइन्छ, राति भएपछि पुनः चितुवालाई पासोमा पार्न खोरमा राखिन्छ ।”
राष्ट्रिय प्रकृति संरक्षण कोषसँगको समन्वयमा फलामे खोर ल्याएर चितुवा आतङ्कित क्षेत्रमा राखिएको हो । सो क्षेत्रमा चितुवाले कुकुर र बाख्रा मारेको भन्दै स्थानीयले नियन्त्रणमा लिन माग गरेपछि निकुञ्ज कार्यालयले चितुवालाई खोरमा थुनेर नियन्त्रणमा लिने विकल्प अपनाएको हो ।
निकुञ्जको चकरी रेन्जपोस्ट रेन्जर लक्ष्मण महतो चितुवाले बाख्रा खाएको पाइएपछि नियन्त्रणमा लिन खोर ल्याएको बताए । उनले खोरभित्र रहेको पाठो कराउने र खोज्दै चितुवा गएपछि खोरमा पर्नेबित्तिकै यहाँ रहेको क्यामरामा जडान प्रविधिमार्फत सन्देश आउने र नियन्त्रणमा लिइने बताए ।
“यहाँ परेन भने अन्यत्र पुनः नियन्त्रणमा ल्याउन प्रयास गर्ने छौँ, कतै न कतै पर्छ । दुई वटा भएको भए सहज हुने थियो,” उहाँले भने, “पदमपोखरी क्षेत्रमा देखिएको बाघ होइन, चितुवा हो । यो क्षेत्रमा पाटेबाघ बाहिर निस्केको अवस्था छैन ।” उनका अनुसार पछिल्लो समय चितुवा मध्यवर्ती क्षेत्रको वनस्पति, चकरी, पदमपोखरीमा आएको जानकारीमा आएको छ । चकरीमा एउटा बाख्र्रो खाएपछि पाँच/सात दिनदेखि कहाँ छ भनेर निगरानी गरिरहेको बताउँदै उनले भने “चितुवा एक छिन आउने आक्रमण गर्ने र फर्किने गर्छ ।” अहिले जडान गरिएको क्यामरा सिमबाट चल्छ नेट जस्तै । केही पर्यो भने सन्देश कार्यालयमा जान्छ ।
पदमपोखरीस्थित मध्यवर्ती वन समितिका अध्यक्ष राजकुमार थिङ गत पुस ९ गतेबाट गाउँ पसेर चितुवाले बाख्रा, कुकुर खाने र स्थानीयलाई आतङ्कित बनाएको बताउनुहुन्छ । लखेटेर साध्य नलागेपछि खोर राख्न लागेको, कति लेखेट्ने सेनालाई पनि सास्ती, प्रविधिको प्रयोग गर्न लागेको भन्दै उहाँले चितुवा आतङ्कका कारण साँझ परेपछि गाउँ सुनसान हुन थालेको बताए। सो क्षेत्रमा गत तीन महिनाको अवधिमा जङ्गली जनावरले एउटा गाई, दुई वटा कुकुर र २७ वटा बाख्रा खाएको स्थानीयको भनाइ छ । गाेरखापत्रबाट साभार
प्रतिक्रिया दिनुहोस्