Portait of the head of an adult black and white cow, gentle look, pink nose, in front of a blue sky.

रत्ननगर । आफन्तको मृत्यु हुँदा हिन्दू संस्कारअनुसार किरिया बस्नु नौलो कुरा होइन । तर चितवनको भरतपुरस्थित वागीश्वरी आश्रमका एक योगी गाई मरेको भन्दै किरिया बसेका छन् ।

भरतपुर महानगरपालिका–१ देवघाट क्षेत्रमा अवस्थित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रका योगी निरञ्जननाथ किरिया बसेका हुन् । गौशालामा संरक्षणका लागि राखिएको स्थानीय जातको एउटा गाईलाई केही दिनअघि बाघले खाएको र अर्को गाई बिजुलीको पोलमा ठोक्किएर मरेको बताइएको छ ।

उनी विगत १४ वर्षदेखि गाईको संरक्षण गर्दै आएका छन् । उनी विगत नौ दिनदेखि हिन्दू परम्पराअनुसार मानिसको मृत्यु हुँदाजस्तै कपाल खौरिएर र सेतो कपडामा बरखी बारेर छुट्टै बसेका छन् । योगी नरहरिनाथले कोटीहोम गरेका सो स्थानमा चितवनकै माडीबाट स्थानीय जातको गाई ल्याएर राखिएको थियो । यसपछि उनका अनुयायीले त्यहाँ स्थानीय जातको गाई विस्तार र संरक्षण गर्दै आइरहेका छन् ।