हेटौँडा । मत्स्य विकास केन्द्र कुलेखानी मकवानपुरले चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा तीन लाखभन्दा बढीको माछा बिक्री गरेको छ । चालु आव २०८१/८२ मा एक हजार चार सय ३२ किलो माछा उत्पादन गरेर बिक्री बापत तीन लाख ३८ हजार २२१ रुपियाँ राजस्व सङ्कलन गरेको हो ।

गत आवमा दुई हजार पाँच सय १८ किलो माछा उत्पादन गरेको केन्द्रले चालु आवमा उत्पादन गरेको माछा लक्ष्य नजिक रहेको मत्स्य विकास केन्द्र कुलेखानी मकवानपुर निमित्त प्रमुख मत्स्य विकास अधिकृत मनिता पौडेलले जानकारी दिइन । उनको अनुसार माछा उत्पादन चालु आवमा गत आवको भन्दा कम लक्ष्य राखिएको छ ।

पौडेलका अनुसार केन्द्रले चालु आर्थिक वर्षको साउन महिनामा केज र तियारीबाट एक सय ८० किलो माछा उत्पादन गरी बिक्री गर्दा चार हजार चार सय ३७ रुपियाँ राजस्व सङ्कलन गरेको छ । भदौ महिनामा तीस हजार दुई सय ३८ असोजमा २९ हजार तीन सय ३६, कात्तिक महिनामा एक लाख ६ हजार चार सय १६, मङ्सिर महिनामा ६ हजार ६ सय एक र पुस महिनामा केन्द्रले चालु आवको हालसम्मकै बढी एक लाख १७ हजार तीन सय राजस्व सङ्कलन गरेको मत्स्य विकास अधिकृत पौडेलले जानकारी दिइन ।

साथै केन्द्रले फागुन अन्तिम सातासम्म तीन हजार नौ सय ६० रुपियाँ राजस्व सङ्कलन गरेको छ भने माघ महिनामा भने माछा बिक्री नगरिएको कार्यालयले जनाएको छ । केन्द्रले गत आवमा दुई हजार पाँच सय १८ किलो माछा बिक्री गरेर ६ लाख २७ हजार राजस्व सङ्कलन गरेको थियो ।

मकवानपुरको इन्द्रसरोवर तालमा केन्द्रले उत्पादन गरेको माछा स्थानीय स्तरमा नै खपत हुने गरेको छ । केन्द्रले हाल सिल्भर, बिगहेड, कमन ग्रास, रहु, नैनी, भाकुर, टीलापिया, सहर र कत्ले जातका माछा उत्पादन गरी बिक्री गर्दै आएको छ । तालको रिजरभ्वायरको जलिय विविधता संरक्षण तथा यसमा आश्रित समुदायको जीवनस्तर उकास्ने हेतुले केन्द्रले विगतका वर्षझै गत भदौ महिनाको तेस्रो साता दुई लाख भुरा माछा तालमा छाडेको थियो । साथै केन्द्रले स्थानीय विद्यालयका विद्यार्थी र कर्मचारीलाई नेपालमा माछा पालनका लागि योग्य माछाका जातहरू, माछाको पौष्टिक महत्त्व तथा प्राकृतिक जलाशयको संरक्षणको विषयमा जानकारी गराउँदै आएको छ । यहाँ उत्पादन भएको माछा स्थानीय स्तरमै खपत हुने गरेको छ । गाेरखापत्रबाट 

Visited 18 times, 1 visit(s) today