हेटौँडा । मकवानपुरका किसानले विषादीको विकल्पमा गहुँत सङ्कलन गरेर प्रयोग गर्न थालेका छन् । व्यावसायिक कृषिको आरम्भ भएसँगै बालीनालीमा लाग्ने रोग तथा किरा नियन्त्रण गर्न विषादीको प्रयोग वृद्धि भइराखेका बेला यहाँका किसानले प्राकृतिक उपचार अपनाउन थालेका हुन् । व्यावसायिक तरकारी खेती हुने मकवानपुरका मनहरी, थाहा, बकैया, हेटौँडामा रासायनिक मल र विषादीको प्रयोग धेरै हुने गरेको छ । मनहरीका किसानले गाईको मलमूत्रलाई औषधीका रूपमा बालीनालीमा प्रयोग गर्न थालेका छन् ।

मकवानपुर मनहरी गाउँपालिका–१, मकरीका देवराज न्यौपानेले तरकारी खेतीका लागि आवश्यक विषादी अर्गानिक रूपमा बनाएर प्रयोग गर्न थाल्नुभएको हो । चार वटा गाई र पाँच वटा बाच्छाबाच्छी पाल्दै आउनुभएका न्यौपानेले गहुँत सङ्कलनका लागि ट्याङ्कीसमेत निर्माण गनुभएकाे छ।

गहुँतमा पानी मिसाएर एक इन्चको मोटरले पानी र मूत्र सबै तरकारीमा हाल्ने गरेको उनले बताए । “गहुँत हाल्न थालेपछि मैले विषादी प्रयोग गर्नुपरेको छैन, गहुँतका कारणले किराको प्रकोप घट्दै गएको छ,” न्यौपानेले भने । बालीका लागि गहुँत विषादी जस्तै प्रभावकारी भएको उनको भनाइ छ ।

सबै किसानलाई विषादीको विकल्पमा गहुँत प्रयोग गर्न पनि सुझाव दिए । चार वटा प्लास्टिक हाउस (टनेल) मा गोलभेँडा खेती गरिरहेका उनले अन्तरबालीका रूपमा बन्दाकोभी पनि लगाएका छन । उनले वार्षिक रूपमा ५० क्विन्टल उत्पादन गरेर स्थानीयस्तरमै साढे दुई लाख रुपियाँसम्मको बिक्री गर्दै आएका छन ।

तरकारीसँगै केराखेती पनि गर्दै आएका उनले केरामा विषादीको प्रयोग गरेका छैनन । “केराको कोसा ठुलो बनाउन कुनै भिटामिन र रासायनिक औषधी हालेका छैनौँ, हाम्रो बच्चाले र वरिपरिकाले पनि यही केरा खानु पर्छ,” उनले भने । निजगढबाट बिउ ल्याएर नौ कट्ठा क्षेत्रफलमा माल्पा जातको तीन सय बोट केरा लगाएका न्यौपानेले वार्षिक तीन लाख रुपियाँभन्दा बढी आम्दानी गरेका छन ।

२३ वर्ष भारतमा सवारी चालकका रूपमा काम गरेका न्यौपाने कोरोनाको महामारीपछि नेपाल फर्किएर आफ्नै गाउँमा केही गरौँ भन्ने सोचका साथ व्यावसायिक कृषि कर्ममा लागेका हुन ।

कृषि र पशुपालनसँगै गरिरहेका न्यौपानेले दैनिक ४० लिटर दुध बिक्री गर्दै आएका छन। गाईका लागि १० कट्ठा क्षेत्रफलमा जै घाँस र नेपिएर लगाएका छन। वार्षिक सात लाख रुपियाँभन्दा बढीको दुध बिक्री गर्ने न्यौपानेले सबै खर्च कटाएर दुध बिक्रीबाट चार लाख रुपियाँ खुद आम्दानी गर्ने गरेको बताए ।

घरपरिवार मिलेर कृषि र पशुपालन गरिरहेका उनले यसकै आम्दानीबाट छोराछोरीलाई उच्च शिक्षा पढाएका छन । कृषि कामका लागि जनशक्ति अभाव हुँदा समस्या भोग्नुपरेको उनले बताए।

भारतबाट आउने केरा, तरकारीका कारण नेपाली किसान मर्कामा परेको गुनासो पोख्दै उनले उचित बजारमूल्य नपाएको बताए। उनले  सरकारलाई समेत नेपाली किसानले उत्पादन गरेका कृषिजन्य सामग्रीले उचित मूल्य पाउने वातावरण सिर्जना गरिदिन आग्रह गरे ।

गाेरखापत्र दैनिकका लागि हेटाैँडाबाट अनिल पराजुलीले लेखेकाे समाचार सामाग्री हामीले साभार गरेका हाैँ ।

Visited 45 times, 1 visit(s) today