काठमाडाैँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले  राष्ट्रिय पञ्चायतका पूर्व अध्यक्ष नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनस्र्थापनासम्बन्धी आन्दोलन समितिमा आफू नरहेको स्पष्ट पारेका छन्।

सुवेदीले सोमबर आफ्नो संयोजकत्वमा ११ सदस्यीय समिति घोषणा गर्ने क्रममा थापालाई पनि सदस्य मनोनित गरेको उल्लेख गरेका थिए । अध्यक्ष थापाले उनको अभियानलाई नैतिक समर्थन रहेको तर समितिमा आफू नरहको प्रष्टिकरण दिएका छन्।

उनले भने, ‘मलाई समितिका सम्बन्धमा जानकारी छैन। राप्रपा नेता हरिबहादुर बस्नेतजीले दिउँसो फोन गरेर समितिमा राख्न लागिएको भन्नुभएको थियो। मैले नराख्नुस् भनेको थिएँ तर मलाई राखिदिनुभएछ। म यो समितिमा छैन र बस्ने कुरा पनि हुँदैन भन्ने स्पष्ट पार्न चाहन्छु । यसबारेमा पार्टीको मंगलबार बैठक बसेर थप निर्णय लिनेछौँ।’

यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि समितिमा आफू नबस्ने र पार्टीले समितिलाई अपनत्व नलिने बताएका छन् ।