हेटाैँडा । बागमती प्रदेश सभाको बैठक चैत १९ गते बस्ने भएको छ। प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले संसद् बैठक १९ गते १ बजेका लागि आह्वान गरेका हुन्।

उक्त बैठकमा संसदमा संशाेधनका लागि प्राप्त चार विधेयक पारित गर्ने कार्यसूची रहेको सभामुख पाठकले जानकारी दिए। प्रदेश सभाको हिउँदे अधिवेशनअन्तर्गत दोस्रो कार्यकालको पाँचौँ अधिवेशनको सातौँ बैठक आह्वान गरिएको उनले बताए।

संसदीय समितिमा विचाराधीन रहेको संशोधन विधेयकका प्रतिवेदन पेस गरी पारित गर्नुपर्ने भएकाले संसद् बैठक आह्वान गरिएको उनको भनाइ छ। यसअघि प्रदेश सभाको गत माघ १८ गतेबाट सुरु भएको हिउँदे अधिवेशनअन्तर्गत २३ माघमा दुई, २४ गते एक र २६ गते दुईवटा बैठक सञ्चालन भएका थिए। त्यसपश्चात् अनिश्चितकालका लागि स्थगित भएको बैठक दुई महिनापछि आह्वान गरिएको हो।

गत माघ २६ गते बसेको प्रदेश सभा बैठकले प्रदेश खेलकुद विकास ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको थियो भने अन्य चार विधेयकलाई संसदीय समितिमा छलफलका लागि पठाएको थियो।

प्रदेश सभाकी सूचना अधिकारी हेमा न्यौपानेका अनुसार प्रदेश सभाको बैठकले विषयगत समितिमा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान २०७६ लाई संशोधन गर्न बनेको विधेयक, कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, प्रादेशिक व्यापार तथा व्यवसायीसम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन पेस हुने न्यौपानेले बताइन्।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाबाट फिर्ता भई आएको प्रदेश कृषि विकास विधेयक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि संशोधनसहित प्रतिवेदन पेस हुने कार्यसूची रहेको उनको भनाइ छ।

संसद् बैठक आह्वान भएसँगै संसदीय समितिको बैठकसमेत बोलाइएको छ। सूचना अधिकारी न्यौपानेका अनुसार शिक्षा, स्वास्थ्य तथा कृषि समितिको बैठक चैत १३ र १४ गतेका लागि बोलाइएको छ भने उद्योग, पर्यटन तथा वातावरण समितिको बैठक चैत १७ र १८ गते बस्ने तय भएको छ। उक्त बैठकले संसदमा पेस हुने संशोधन विधेयकको प्रतिवेदनलाई अन्तिम रूप दिने उनको भनाइ छ।

राष्ट्रिय सभा अध्यक्ष दाहालले प्रदेश सांसदहरूसँग छलफल गर्ने
राष्ट्रिय सभा अध्यक्ष र बागमती प्रदेश सभा सदस्यहरूबिच छलफल हुने भएको छ। चैत २० मा छलफल हुने गरी सभामुख पाठकले बैठक आह्वान गरेका छन्।

प्रदेश सभाको अनुगमन, संसदको काम, संसदीय समितिको भूमिकालगायतका विषयमा छलफल गर्न राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसहितका सांसदहरू आउने कार्यक्रम रहेको उनले बताए। २० गते ११ बजे अध्यक्ष दाहालसहित राष्ट्रिय सभा सदस्य र प्रदेश सभा सदस्यहरूबिच छलफल हुने उनले जानकारी दिए।

कानुन निर्माण, संघ र प्रदेश संसदबिचको तालमेललगायतका विषयमा छलफल हुने गरी बैठक तय गरिएको उनले बताए। प्रदेश सभाले निर्माण गरेका कानुन, कानुन कार्यान्वयनको अवस्थालगायतका विषयमा बैठकमा छलफल हुने सभामुख पाठकले बताए। बैठक संसद् हलभन्दा बाहिर हुने उनको भनाइ छ। नयाँ पत्रिकाबाट

Visited 9 times, 1 visit(s) today