हेटाैँडा । नाबालिका छोरीलाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत मकवानपुरले बाबुलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको बुधबार बसेको इजलासले मकवानपुरको थाहा नगरपालिका–१ की १३ वर्षिया छोरीलाई ललाईफकाई पटक/पटक बलात्कार गरेको आरोपमा ३६ वर्षीय बाबुलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

बाबुले पटक/पटक बलात्कार गरेपछि सहन नसकेर नाबालिकाले फुपुलाई पीडा सुनाएकी थिइन् । फुपुहरुको सहयोगमा ईप्रका पालुङमा उनले उजुरी दिएकी थिइन् । उजुरीकै आधारमा प्रहरीले बाबुलाई २०८१ चैत २८ गते पक्राउ गरेको थियो । जेठी श्रीमतीकी तर्फबाटकी नाबालिका छोरीलाई बाबुले कात्तिक महिनादेखि पटक/पटक बलात्कार गर्दै आएका थिए । जेठी श्रीमती छोरी घरमा छोडेर दोस्रो विवाह गरेर गएकी थिइन् ।

यसैगरी किशोरीलाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत मकवानपुरले एक युवकलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । जिल्ला न्यायाधीश पुर्णिमा कोइरालाको मंगलबार बसेको इजलासले मकवानपुरको थाहा नगरपालिका–३ शिखरकोटका १९ वर्षीय एलोन विष्टलाई बलात्कार गरेको आरोपमा थुनामा पठाउने आदेश गरेको हो ।

१७ वर्षीया किशोरीलाई विष्टले बैशाख २ गते बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चालु आवको १० महिनामा २४ बालिका बलात्कृत भएका छन् । यस अवधिमा ३९ वटा बलात्कारका घटना भएका छन् ।