हेटौँडा । बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा मगरले प्रदेश सरकारले आयुर्वेदलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मकवानपुरको आइतबार हेटौँडा–२ मा नव निर्मित भवनको उद्घाटन गर्दै मन्त्री थापाले आयुर्वेदको स्तरोन्नति र प्रवद्र्धनका लागि बजेटमा प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।
आयुर्वेदको अन्तरङ्ग सेवा चितवन र नुवाकोटमा सुरु भइसकेको जानकारी दिर्दै मकवानपुरमा पनि सुरु गर्ने तयारी भइरहेको उनले बताए । प्रदेशको १३ वटै जिल्लामा प्रादेशिक अस्पताल र १३ वटै आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको प्रवद्र्धन गर्न प्रदेश सरकारले बजेट विनियोजन गरेको उनले बताए ।
“हाम्रो देशमा जडीबुटीको प्रचुरता छ, हामीले आयुर्वेदलाई प्राथमिकता दिनुपर्छ,”–मन्त्री थापाले भने । दश प्रकारको आयुर्वेद औषधि उत्पादन गर्दै आएको जानकारी दिर्दै आगामी आवबाट थप ११ प्रकारको औषधि प्रदेश सरकारले उत्पादन गर्ने उनले बताए । नेपाल सरकारले निःशुल्क उपलब्ध गराएको २३ प्रकारको औषधि मध्ये २१ प्रकारको औषधि असोज मसान्तपछि प्रदेश सरकारले उपलब्ध गराउने उनको भनाई छ । स्वास्थ्य क्षेत्रको सुधार गर्न प्रदेश सरकार लागिरहेको बताउँदै उहाँले हेटौँडा अस्पताल जिल्ला अस्पताल हुँदाको समयको भन्दा प्रादेशिक अस्पताल भएपछि अहिले विशेषज्ञ सेवा सहित हजारौँ सेवाग्राहीलाई दैनिक सेवा दिन सक्ने भएको जिकिर गरे । हेटौँडा अस्पतालको निर्माणाधीन भवन सम्पन्न भएपश्चात् अहिले तीन सय श्यामा सञ्चालन भएको अस्पताल ५ सय श्यामा सञ्चालन हुनेगरि व्यवस्था मिलाउन तयारी गरिरहेको उनको भनाई छ ।
प्रसङ्ग जोड्दै स्वास्थ्य मन्त्री थापाले एन्टिबायोटिक औषधिले धेरै नकारात्मक प्रभाव पारिरहेको बेला आयुर्वेदिक औषधिको धेरै महत्त्व रहेको बताए । उनले आयुर्वेदिक औषधिले दीर्घरोगीलाई पनि निको हुन सहज पुगेको धारणा राख्नुभयो । योग, ध्यान र प्रणामलाई प्राथमिकता दिनुपर्नेमा उनले जोडिदिए । नसर्ने रोग बढेकोमा चिन्ता व्यक्त गर्दै मन्त्री थापाले बिहान योग, ध्यान, प्रणायम गर्न आग्रह गरे ।
बहिरङ्ग (ओपिडी) सेवा मात्रै सञ्चालन गर्दै आएको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मकवानपुर बागमती प्रदेश सरकारको लगानीमा १६ शय्यामा स्तरोन्नति भएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गतको सार्वजनिक निर्माण कार्यान्वयन इकाई गजुरी धादिङ मार्फत युरेका पिण्डेश्वरी जेभी ललितपुरले निर्माणको ठेक्का पाएको थियो । २०७९ फागुन २८ गते सम्झौता भई २०८१ फागुन ३० गते निर्माण सम्पन्न गर्नेगरि काम गरिए पनि काम तोकिएको समयमा सम्पन्न हुन नसक्दा चालु आवको असार मसान्त सम्मको म्याद थप गरिएको थियो । ९ करोड ६९ लाख ८४ हजार लागत अनुमान गरिएकोमा ७ करोड ५३ लाख ८२ हजारमा निर्माणको सम्झौता गरी काम गरिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मकवानपुरका आयुर्वेद चिकित्सक डा.ललिता पाण्डेले जानकारी दिइन् ।
पछिल्लो समय आम जनमानसको आयुर्वेद चिकित्साप्रति विश्वास र आकर्षण बढेसँगै सेवाग्राहीको पनि बाक्लो उपस्थिति रहेको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मकवानपुर प्रमुख डा. पाण्डेका अनुसार विगतभन्दा दिन प्रतिदिन आयुर्वेदप्रति सेवाग्राहीको आकर्षण बढ्दै गएको छ । आयुर्वेदिक औषधीले अन्यभन्दा स्वास्थ्यमा कम असर गर्ने विश्वाससँगै यसतर्फ आकर्षण बढ्दै गएको हो । विशेष गरी ग्यास्ट्रिक, हाड जोर्नी तथा नसाको दुखाइ, पायल्स, रुघाखोकी, ज्वरोलगायतका स्वास्थ्य समस्या लिएर बिरामी आउने गरेको पाण्डेको भनाइ छ ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष अर्जुन ढकालको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी छिन्तु, एकालाल श्रेष्ठ, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष दिनेश कुमार लम्साल, रजिस्ट्रार भीम सागर गुरागाईँ, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ लगायतकाको सहभागिता रहेको थियो ।












प्रतिक्रिया दिनुहोस्