हेटौँडा । हेटौँडालाई ललितपुर हुँदै काठमाडौंसँग जोड्ने महत्त्वपूर्ण वैकल्पिक मार्ग मानिने कान्तिलोकपथ ६० दिनका लागि बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले बुधबार जारी गरेको सूचनामा बागमती गाउँपालिका– ९ भेट्टेडाँडा र छपेलीआसपासको सडक चौडाइ विस्तार तथा कटिङ कार्यका कारण दैनिक केही समय सडक बन्द गर्नुपर्ने उल्लेख गरिएको छ ।

प्रशासनले जारी गरेको सूचनाअनुसार मंसिर २० गतेदेखि आगामी ६० दिनसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म करिब ६ घण्टा सडक पूर्ण रूपमा बन्द रहनेछ । सडक विस्तार र कटान कार्य सुरक्षित रूपमा सम्पन्न गर्न यातायात आवागमन रोक्नुपर्ने आवश्यकताका कारण यस्तो व्यवस्था गरिएको बताइएको छ ।

कान्तिलोकपथ हेटौँडा–काठमाडौं आवागमनका लागि महत्त्वपूर्ण विकल्पको रूपमा प्रयोग हुँदै आएको छ। दैनिक यात्रु, व्यापारिक आपूर्ति तथा निजी सवारीसाधनका लागि सहज मानिने यो मार्ग अवरुद्ध हुँदा केही समय यात्रुहरूलाई असहज हुने अनुमान गरिएको छ।

प्रशासनले सडक बन्द अवधिभर अत्यावश्यक सवारीसाधनलाई वैकल्पिक व्यवस्था अपनाउन आग्रह गर्दै कार्य छिटो सम्पन्न गरी यथाशक्य चाँडो नियमित गरिने जनाएको छ ।