चितवन । पूर्व–पश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–हेटौँडा सडकखण्ड चार लेनमा विस्तार हुने भएको छ । सडक विस्तारका लागि सडक विभागअन्तर्गतको आयोजना निर्देशनालय (एडीबी) ले भदौ १९ गते विश्वव्यापी बोलपत्र आह्वान गरिसकेको छ । हेटौँडाको राप्ती पुलदेखि भरतपुरको गोन्द्राङसम्मको ७० किलोमिटर सडक तीन प्याकेजमा स्तरोन्नति गर्न लागिएको हो ।
एडीबीको सहुलियतपूर्ण ऋण तथा अनुदान सहयोगमा अघि बढाइएको आयोजनाको पहिलो प्याकेजमा राप्ती पुलदेखि लोथर पुलसम्मको करिब ४० किलोमिटर, दोस्रो प्याकेजमा लोथर पुलदेखि टिकौलीसम्मको करिब २६ किलोमिटर र तेस्रो प्याकेजमा टिकौलीदेखि गोन्द्राङसम्मको करिब चार किलोमिटर सडक समेटिएको छ ।
आयोजना निर्देशनालय (एडीबी) का आयोजना निर्देशक चूडाराज ढकालले बोलपत्र आह्वानपछि ठेक्का सम्झौता गरी निर्माण सुरु गर्न करिब सातदेखि नौ महिना लाग्ने जानकारी दिए । निर्माण अवधि तीन वर्ष छ महिना राखेर बोलपत्र आह्वान गरिएको उनले बताए ।
आयोजनाको सबैभन्दा महत्त्वपूर्ण संरचनाका रूपमा चितवनको टिकौली जङ्गलमा करिब दुई किलोमिटर लामो फ्लाइओभर निर्माण गरिनेछ । संरक्षित क्षेत्रभित्र यति लामो फ्लाइओभर निर्माण गर्न लागिएको यो नेपालकै पहिलो आयोजना हुने आयोजनाले जनाएको छ । एडीबीका अनुसार यो संरचना बरण्डाभार वन्यजन्तु करिडोरमा वन्यजन्तुको आवागमनमा अवरोध नहुने गरी निर्माण गरिनेछ ।
टिकौलीमा सडक माथिबाट सवारीसाधन सञ्चालन हुने र त्यसको मुनिबाट वन्यजन्तु आवतजावत गर्न सक्ने व्यवस्था मिलाइनेछ । फ्लाइओभरमा दुईवटा समानान्तर संरचना रहनेछन् । प्रत्येक संरचना करिब ११ मिटर चौडा हुनेछ । सडकका चार लेनमध्ये दुई लेनमा एकतर्फ र दुई लेनमा अर्कोतर्फ सवारीसाधन सञ्चालन हुनेछन् । पैदलयात्री र साइकल यात्राका लागि पनि छुट्टै लेनको व्यवस्था गरिनेछ । फ्लाइओभरमा ६७ वटा पिलर रहने गरी डिजाइन गरिएको छ ।
फ्लाइओभर निर्माणमा करिब ५.५ अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ । यसमध्ये तीन अर्ब रुपियाँ एडीबीको अनुदानबाट र बाँकी रकम सहुलियतपूर्ण ऋणबाट व्यवस्थापन गरिनेछ । यसअघि आयोजनाले फ्लाइओभरमा अनुदान बढाउन एडीबीसँग आग्रह गरेको भए पनि हाल तीन अर्ब रुपियाँ अनुदानको व्यवस्था रहेको आयोजना निर्देशक ढकालले बताए।
समग्र ७० किलोमिटर सडक दुई लेनबाट कम्तीमा चार लेनमा विस्तार गरिनेछ । बजार तथा बस्ती क्षेत्रमा चार लेनको मुख्य सडकसँगै सर्भिस लेन, फुटपाथ, साइकल लेन र सडक पार गर्ने संरचनासमेत निर्माण गरिनेछ । बस्ती तथा बजार नभएका क्षेत्रमा भने मुख्य सडक चार लेनको बनाइनेछ । एडीबीले सहरी क्षेत्रमा सडक प्रयोगकर्ताको सुरक्षा र सहज आवागमनलाई ध्यानमा राखेर सर्भिस लेन तथा पैदल र साइकल पूर्वाधारलाई आयोजनाको अभिन्न हिस्सा बनाएको छ ।
मकवानपुर–चितवन खण्डमा सातवटा स्थायी पक्की पुलसमेत निर्माण गरिनेछन् । सडक विस्तारसँगै पुल तथा अन्य संरचना पनि चार लेनको मापदण्डअनुसार निर्माण गरिने आयोजनाले जनाएको छ ।
नारायणगढ–हेटौँडा सडकखण्डको स्तरोन्नतिले पूर्व–पश्चिम राजमार्गको महत्त्वपूर्ण खण्डको यातायात क्षमता बढाउने, यात्रा समय घटाउने र सडक सुरक्षा सुधार गर्ने अपेक्षा गरिएको छ । विशेषगरी टिकौली जङ्गलमा निर्माण हुने वन्यजन्तुमैत्री फ्लाइओभरले सडक दुर्घटनाबाट हुने वन्यजन्तुको क्षति घटाउनुका साथै बरण्डाभार करिडोरमा वन्यजन्तुको प्राकृतिक आवागमनलाई सहज बनाउने अपेक्षा गरिएको छ ।
टिकौली जङ्गलमा निर्माण हुने फ्लाइओभरले नयाँ पर्यटकीय केन्द्रको विकासमा समेत योगदान पुर्याउने क्षेत्रीय होटल सङ्घ, सौराहा च्याप्टरका पूर्वअध्यक्ष सुमन घिमिरेले बताए। जङ्गल सफारीका लागि चितवन आएका पर्यटकले भरतपुरबाट सौराहा जाने क्रममा फ्लाइओभरबाटै वन्यजन्तु हेर्न पाउने अवसर महत्त्वपूर्ण हुने उनको भनाइ छ ।












प्रतिक्रिया दिनुहोस्