हेटाैँडा । प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब एक महिना भन्दा कम समय बाँकी रहेको छ । यो अवस्थामा बुधबार साँझ हेटौंडामा राष्ट्रिय सांगीतिक समूह नेपथ्यको कन्सर्ट भएको छ ।

रमाइलो इभेन्टस् हेटौंडाको आयोजनामा नेपथ्यले कन्सर्टको आयोजना गरेको हो । हेटौंडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको मैदानमा कन्सर्ट भएको हो । निर्वाचन आचारसंहिता विरुद्ध हेटौंडामा नेपथ्यको कन्सर्ट आयोजना गरिएको भन्दै सर्वसाधारणले यसको विरोध जनाएका छन् । नगर खेलकुद विकास समितिका सदस्य विजय गौतमले आचारसंहिता मिच्दै हेटौंडामा कन्सर्टको आयोजना गरेको भन्दै सामाजिक सञ्जाल फेसबुक मार्फत आपत्ति जनाएका छन् ।

प्रहरी प्रशासनसँगको मिलेमतोमा निर्वाचन आउन एक महिना बाँकी नभएको अवस्थामा नेपथ्यलाई कन्सर्ट गर्न दिइएको भन्दै सर्वसाधारणले विरोध जनाएका हुन् । यस विषयमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले निर्वाचन आचारसंहिताले मेला महोत्सव गर्न नरोक्ने बताए । ‘स्थानीय तहले अनुमति दिने र हामीले सुरक्षा दिने हो’, उनले भने, ‘कन्सर्टमा आचारसंहिता विरुद्धको काम भयो भने आयोजकलाई कारबाही हुनेछ ।’ नेपथ्यले यहाँ मात्र नभई अन्य जिल्लामा समेत यसपछि कन्सर्टको आयोजना गर्न लागेको अधिकारीले बताए । आचारसंहिता उल्लंघन नगर्ने सहमतिमा अनुमति दिइएको उनको भनाई छ ।