हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले माघ ११ गतेबाट हेटौंडामा दशौं राष्ट्रिय औद्योगिक व्यापार महोत्सव सञ्चालन गर्ने भएको छ ।

संघले बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै माघ ११ देखि २३ गतेसम्म टीसीएनको चौरमा मेला आयोजना गर्न लागेको जानकारी दिएको हो । उत्पादक तथा उपभोक्ताबीच सोझो सम्पर्क कायम गर्ने, आन्तरिक तथा बाह्य पर्यटकीय विकास गर्ने, गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने, स्थानीय वस्तु तथा उत्पादनको बजार प्रबर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागेको संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालले जानकारी दिए ।

मेलामा बहुराष्ट्रिय, राष्ट्रिय तथा ठूला साना उद्योग र स्थानीय तथा राष्ट्रिय उत्पादन एवम् सेवाको व्याफार, क्रेता र विक्रेता अन्तरक्रिया, स्थानीय तथा राष्ट्रिय कलाकारको मनोरञ्जनात्मक सांस्कृतिक कार्यत्रम, राष्ट्रियस्तरका व्यावसायिक गोष्ठी तथा सेमिनार, खाना तथा सांस्कृतिक मेला, पर्यटन प्रबर्द्धनका साथै वाल उद्दान रहने बताइएको छ ।

अघिल्लो पटक अत्यधिक विवादमा परको हेलिकप्टर टुरलाई यो पटक पनि प्रमुख आकर्षणको रुपमा समेटिएको छ । मेलामा विद्यार्थीको कार्यक्षमता विकासको कार्यक्रम समेत हुने आयोजकले जानकारी दिएको छ ।

महोत्सवलाई करिब २ लाख भन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । जिल्लाको प्रतिभा प्रस्फुटनका लागि गायन प्रतिस्पर्धा हेटौंडा आइडल र नृत्य प्रतिस्पर्धा डान्सिङ स्टारको समेत आयोजना हुने अध्यक्ष अग्रवालले बताए । महोत्सवमा करिब तीनसय वटा स्टल रहनेछ ।