हेटौंडा । तेस्रो मिस्टर मकवानपुर असोज १३ गते हेटौंडामा हुने भएको छ । नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघ जिल्ला कार्यसमिति मकवानपुरको आयोजनामा मिस्टर मकवानपुर हुन लागेको हो ।
मकवानपुर जिल्लाभित्रका शारीरिक सुगठनमा रुची भएका करिब ५० जना प्रतियोगितामा सहभागी हुने अनुमान गरिएको आयोजकले शुक्रबार हेटौंडामा पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको छ । आयोजक अध्यक्ष राजेश भेटवालका अनुसार प्रतियोगितामा करिब १२ लाख रुपैयाँ खर्च अनुमान गरिएको छ ।
प्रतियोगिताको विजेताले नगद १ लाख, द्वितीय ५०, तृतीय ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । विभिन्न तौल समूहमा प्रथम हुनेलाई जनही नगद दश/दश हजार रुपैयाँ तथा महिलाहरु एउटै समूहमा प्रतिस्पर्धा गराइने अध्यक्ष भेटवालले बताए । प्रतियोगितामा पुरुषतर्फ ५५, ६०, ६५, ७० र ७५ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा धेरै खेलाडी सहभागी गराउने क्लबलाई उत्कृष्टका रुपमा नगद २५ हजार रुपैयाँसहित सम्मानित गरिनेछ ।
प्रतियोगिताको समापन समारोहमा खेल, पत्रकारिता तथा शिक्षा क्षेत्रमा योगदान पुर्याउनेलाई एक/एक जनालाई सम्मानित गरिने आयोजकको तयारी छ । स्थानीय तह, प्रदेश सरकार तथा विभिन्न संघसंस्थाबाट आयोजकले सहयोग प्राप्त हुने अपेक्षा गरेको छ ।
प्रतिक्रिया दिनुहोस्