हेटौँडा । बागमती प्रदेश सरकारले चितवनमा निर्माणाधीन अवस्थाको गौतम बुद्ध क्रिकेट रङ्गशाला निर्माणमा सहयोग गर्ने भएको छ । प्रदेश सरकार र भरतपुर महानगरपालिकाको संयुक्त लगानीमा निर्माणाधीन क्रिकेट रङ्गशालाले पूर्णता पाउने भएको हो ।

मङ्गलबार बागमती प्रदेशको मुख्यमन्त्री कार्यालय हेटौँडामा बसेको बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाबिचको बैठकले उक्त रङ्गशाला निर्माणका लागि संयुक्त लगानी गर्ने सहमति भएको हो ।

सहमतिअनुसार गौतम बुद्ध क्रिकेट रङ्गशाला निर्माणका लागि ७० प्रतिशत बागमती प्रदेश सरकार र ३० प्रतिशत भरतपुर महानगरपालिकाले व्यहोर्ने निर्णय भएको बागमती प्रदेशका मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देवीप्रसाद ढकालले जानकारी दिए । प्रदेश सरकारले पहिलो चरणमा ७५ करोड रुपियाँको काम गर्ने गरी सहमति भएको उनले जानकारी दिए ।