हेटौंडा । बागमती प्रदेश खेलकुद प्रतियोगिता हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा सुरु भएको छ । प्रथम प्रदेश खेलकुदको मुख्यमन्त्री राजेन्द्र पाण्डेले शनिबार उद्घाटन गरेका थिए ।

उद्घाटन समारोहमा ओलम्पियन वैकुण्ठ मानन्धरले ओलम्पिक टर्च बोके । उनीसँगै ओलम्पियन दीपक विष्ट, संगीना वैद्य र कान्छीमाया कोजु सहभागी थिए । सेना, प्रहरी, खेलाडी र विद्यार्थीले मार्चपास तथा झाँकी प्रदर्शन गरेका थिए । चैत १२ सम्म सञ्चालन हुने प्रतियोगितामा आठ खेल समावेश गरिएको छ । फुटबल, क्रिकेट, भलिबल, तेक्वान्दो, कराते, एथलेटिक्स, बक्सिङ र ब्याडमिन्टन खेललाई समावेश गरिएको छ । खेलहरू मकवानपुर, चितवन, काभ्रे, काठमाडौं र सिन्धुपाल्चोक जिल्लामा हुनेछन् ।

मकवानपुरमा आइतबारदेखि पुरुष फुटबल, ब्याडमिन्टन र चैत ५ देखि तेक्वान्दो प्रतियोगिता हुनेछ । चितवनमा ३० गतेदेखि भलिबल र क्रिकेट सुरु हुनेछ । सिन्धुपाल्चोकमा चैत ७ देखि कराते खेल हुनेछ । काठमाडौंमा चैत ६ देखि एथलेटिक्स प्रतियोगिता हुनेछ भने काभ्रेमा चैत ७ देखि महिला फुटबल र चैत ९ देखि बक्सिङ प्रतियोगिता हुनेछ ।

प्रतियोगिताको समापन काभ्रेको धुलिखेलमा हुनेछ । प्रतियोगितामा २ हजारभन्दा बढी खेलाडी सहभागी हुने प्रदेश खेलकुद परिषदका सदस्यसचिव सूर्यलाल भण्डारीले बताए । प्रतियोगिताको लागि ८ करोड ४ लाख रुपैयाँ रकम खर्च हुने अनुमान गरिएको छ ।
साभार इकान्तिपुर