चितवन । चितवनको सौराहमा सञ्चारकर्मीहरु संग अन्तरक्रिया तथा संसदीय रिपोटिङ्ग सम्बन्धी दुई दिने प्रशिक्षण कार्यक्रम भएको छ । बागमती प्रदेश सभा सचिवालय हेटौंडाको आयोजना तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेशको संयोजनमा प्रशिक्षण कार्यक्रम भएको हो ।

कार्यक्रममा बागमती प्रदेशका सभामुख भुवन पाठकले मुलुकको समुन्नतिमा पत्रकारको भूमिका महत्वपूर्ण हुने बताएका छन् । समाजमा गलत क्रियाकलाप हुन नदिन सचेत गराउँदै विकृतयुक्त कार्यलाई निरुत्साहित गर्न पत्रकारको भूमिका हुने उनले बताए ।

कार्यक्रममा बागमती प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले पत्रकार र प्रदेशसभाबीच सुमधुर सम्बन्ध कायम राख्न आफूहरु तत्पर रहेको बताए । प्रदेशसभाको बैठक, समितिको बैठकलगायतमा पत्रकारको पहुँचबारे आफूहरु सचेत रहेको खड्काको भनाइ थियो । सही र छिटो सूचना सम्प्रेषण गर्ने बिधिबारे पनि पत्रकारहरूसँग छलफल गरिने उनले बताए ।

प्रशिक्षण उद्घाटन कार्यक्रममा बागमती प्रदेशसभा उपसभामुख अप्सरा चापागाईं खत्री, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्का, बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, अधिकृत सुन्दर बास्कोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रशिक्षणमा संसद, संसदीय संवाददाता खोज तथा लेखनशैली, जनप्रतिनिधिसँग सम्बन्धको विषयमा पत्रकार हरिबहादुर थापा तथा प्रदेशसभा र सूचना सम्बन्धी विषयमा मनोजकुमार गुप्ताले सहजीकरण गरेका थिए । प्रशिक्षणमा संसदीय पत्रकारितामा क्रियाशील मकवानपुर र चितवनका करिब ४० जना पत्रकारको सहभागिता रहेको थियो ।