हेटौंडा । डिभिजन वन कार्यालय मकवानपुर र राप्ती डिभिजन वन कार्यालय मनहरीको संयुक्त पहलमा मकवानपुरको थाहा नगरपालिका घट्टे चौरमा आपूर्ति समितिको काठको डिपो सञ्चालनमा आएको छ । उत्तरी क्षेत्रका उपभोक्तालाई सेवा दिने उद्देश्यले सालको चिरान काठको डिपो सञ्चालनमा ल्याएको हो । थाहा नगरपालिकाको समन्वयमा सञ्चालनमा आएको चिरान काठ डिपोले बैशाख पहिलो सातादेखि सेवा दिनेछ ।
मकवानपुरका डिभिजन वन अधिकृत तथा जिल्ला वन पैदावार आपूर्ति समितिका संयोजक शिव सापकोटाले उत्तरी क्षेत्रका आम उपभोक्तालाई सहज सेवा दिने उद्देश्यले जिल्लामा पहिलो पटक चिरान काठ डिपो मार्फत उपलब्ध गराउने तयारी गरेको जानकारी दिए । थाहा नगरपालिका घट्टे चौरबाट सालको चिरान डिपोमा हामीले काठ पठाईसकेका छौं, उनले भने २०८० साल बैशाख पहिलो सातादेखि उपभोक्ताले चिरान काठ खरिद गर्न पाउनेगरि तयारी गरेका छौं । यसअघि हेटौंडाको रातोमाटेबाट गोलिया काठ वितरण गर्दै आएको उनले जानकारी दिए ।
घट्टेचौरको तरकारी संकलन केन्द्रको भवनमा चिरान काठ बिक्री केन्द्र संचालन भएको छ । केन्द्रमा ५ सय क्युफिट ६ सय ७६ थान चिरान काठ बिक्रीको लागि ल्याइएको सव डिभिजन वन कार्यालय पालुङका प्रमुख कृष्ण शर्माले जानकारी दिए । काठ खरिदको लागि घर मर्मत तथा संभार गर्नुपर्ने भएमा सम्बन्धित वडा तथा नगरपालिकाको सिफारिसको आधारमा एक घर २० क्युफिट काठ बिक्री गरिने उनले बताए ।
ढलानसहितको पक्की घर निर्माणकार्यको लागि काठ आवश्यक परे घरको नक्सापास सहित सव डिभिजन कार्यालय पालुङको कार्यालय थाहा १ झम्केश्वरी तथा थाहा नगरपालिकामा निवेदन दिन सकिने उनले जानकारी दिए । पक्की घरको लागि ५० क्युफिट काठ उपलब्ध गराईने उल्लेख छ ।
सालको चिरान काठ थाहानगरबाटै उपलब्ध गराउन थाहा नगरपालिकाका प्रमुख बिष्णु बहादुर बिष्टले निरन्तर राप्ती डिभिजनलाई आग्रह गरेपछि डिभिजन प्रमुख बिष्णु प्रसाद आचार्यको पहलमा नगरबाट नै काठ उपलब्ध गराउन सुर गरिएको हो ।
थाहामा डिपो संचालनमा ल्याउन सफल भएपछि उनले एउटा सपना साकार भएको प्रतिक्रिया दिएका छन । गत आर्थिक बर्षदेखि सञ्चालनको प्रयत्न गरिएपनि डिभिजन वन कार्यालय मकवानपुर र राप्ती डिभिजन वन कार्यालय मनहरीको अथक प्रयास पश्चात यसपालीबाट डिपो संचालनमा ल्याउन सकिएकोमा अत्यन्त खुसी भएको आचार्यले बताए । काठको डिपो संचालनमा आएपछि जिल्लाको थाहा नगरपालिका, इन्द्र सरोवर गाउँपालिका, भीमफेदी गाउँपालिका र कैलाश गाउँपालिको माथिल्लो भेगका उपभोक्तालाई राहत हुने उनको विश्वास छ ।












प्रतिक्रिया दिनुहोस्